०५ साउन २०८३, मंगलबार

अजयबाबुको प्रश्न– हामी कान्छो पुस्ताले कांग्रेस र एमालेबीचको आरोपप्रत्यारोपको कसरी बचाउ गर्ने ?

साउन २७, २०८१
काठमाडौं
अजयबाबुको प्रश्न– हामी कान्छो पुस्ताले कांग्रेस र एमालेबीचको आरोपप्रत्यारोपको कसरी बचाउ गर्ने ?
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सत्ता र प्रतिपक्षीको फरक भूमिकामा हुँदा कांग्रेस एमालेबीच भएको आरोप प्रत्यारोपको कसरी बचाउ गर्ने भन्दै प्रश्न उठाएका छन् ।

पहिले कतिपय मुद्दामा एक अर्काप्रति गम्भीर सवाल उठाए पनि अहिले सहयात्री भएकै आधारमा त्यस्ता आरोपप्रत्यारोप त्याग गर्न नसकिने भन्दै उनले पार्टीसामु यस्तो प्रश्न उठाएका हुन् । 

केन्द्रीय समितिको जारी बैठकमा सिवाकोटीले एक अर्काविरुद्ध लगाएको आरोपलाई प्रष्ट पार्न नसके अरु दलबाट हुने खतरा बढ्ने बताए ।

‘दुई फरक ध्रुवका र प्रतिस्पर्धी राजनीतिक दल एक विशिष्ट परिस्थितिमा सत्ताका सहयात्री हुनुपरेको छ । सत्ता र प्रतिपक्षीको फरक भूमिकामा हुँदा दुवै दलले एक अर्का विरुद्ध राजनीतिक आरोप प्रत्यारोप गरेका थिए । ति आज पनि रेकर्डेड छन् र जीवित छन् । कतिपय मुद्दाहरू पनि जीवित छन् । परिस्थिति खास बदलिएको पनि छैन । यो केन्द्रीय समितिमा रहेका हामी कान्छो पुस्ताले हिजो एक अर्काविरुद्ध गरिएका आरोपप्रत्यारोपको के भनेर आज बचाउ गर्ने भेउ पाउन सकेको छैन,’ सिवाकोटीले भने, ‘त्यसकारण पनि यही बैठकमा हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ । आज सरकारमा सँगै आएका कारण मात्र हामीले हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रैविरुद्ध प्रयोग गर्ने खतरालाई पनि नजरअन्दाज गर्नुहुन्न भन्ने मेरो मत छ । त्यसैले पोजिसनमा नभएका हामीहरूको पोजिसन वास्तवमै यसकै वरिपरि रहँदै आएको छ ।’

कमेन्ट गर्नुहोस्