२४ जेठ २०८३, आइतबार
ट्रम्पमाथि इरानी ह्याकरको निशाना

अमेरिकी राष्ट्रपति निर्वाचनमा इरानी ह्याकर समूह सक्रिय, किन ट्रम्पलाई बनाउँदैछ निशाना ?

साउन २८, २०८१
काठमाडौं
अमेरिकी राष्ट्रपति निर्वाचनमा इरानी ह्याकर समूह सक्रिय, किन ट्रम्पलाई बनाउँदैछ निशाना ?
Doug Mills/The New York Times

अमेरिकी राष्ट्रपति निर्वाचनको अभियान भव्यताका साथ चल्दै गर्दा उम्मेदवार र उनका समर्थकहरूको माइक्रोसफ्टलगायत अन्य सामाजिक सञ्जालका एकाउन्ट ह्याक हुन थालेका छन् ।​

न्युयोर्क टाइम्समा प्रकाशित एक समाचार प्रतिवेदनका अनुसार यसपटक रुसी ह्याकर नभई इरानी ह्याकरहरू सक्रिय भएका छन् । यसअघिका २ निर्वाचनमा रुसी ह्याकरले अमेरिकी राष्ट्रपति उम्मेदवारका एकाउन्ट ह्याक गर्ने गरेका थिए ।

शुक्रबार माइक्रोसफ्टले एक रिपोर्ट सार्वजनिक गर्दै इरानको इस्लामिक क्रान्तिकारी गार्डको गुप्तचर एकाईद्वारा सञ्चालित ह्याकिङ समूहले पूर्व राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकारको खाता सफलतापूर्वक ह्याक गरेको बताएको थियो ।

माइक्रोसफ्टका अनुसार इरानी ह्याकरको समूहले राष्ट्रपतीय अभियानमा सरिक उच्च पदाधिकारीलाई स्पेयर फिसिङ नामक नक्कली इमेल पठाएको थियो, जसको उद्देश्य एकाउन्ट र अन्य डाटाबेसमा पहुँच पुर्‍याउनु थियो ।

शनिबार राति ट्रम्पले आफ्नो अभियानलाई असफल बनाउन धेरै वेबसाइटहरूमध्ये एउटा वेबसाइटलाई इरानी समूहले ह्याक गरेको जानकारी दिएका थिए ।

तर, ह्याकरहरूले सार्वजनिक रूपमा उपलब्ध जानकारी मात्रै लैजान सकेको उनको भनाइ थियो ।

चुनावी अभियान नै ह्याक गर्न इरानी समूह परिचालित भएपछि ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासन कमजोर र निष्प्रभावी रहेको टिप्पणी गरेका छन् । ह्याकिङबारेका यथार्थहरू अझै अस्पष्ट छन् ।

माइक्रोसफ्टले 'मिन्ट स्यान्डस्टोर्म' नाम गरेको इरानी समूहले ट्रम्पको चुनावी अभियान चलाइरहेको वेबसाइट ह्याक गरेर के लग्यो भन्ने स्पष्ट नभएको जनाएको छ ।

शनिबार पोलिटिकोमा प्रकाशित रिपोर्टमाथि टिप्पणी गर्दै ट्रम्प र उनको अभियानका सारथिहरूले बाइडेन प्रशासनले नै अभियानका कागजातहरू चुहाएको आरोप लगाएको थियो ।

चुहावटमा परेका ती कागजातहरू कसैले इरानी समूहलाई दियो या उक्त समूहले आफ्नो क्षमता प्रयोग गरेर प्राप्त गर्‍यो भन्ने अहिलेसम्म स्पष्ट नभएको न्युयोर्क टाइम्सले जनाएको छ ।

न्युयोर्क टाइम्सले एक गोप्य सूत्रबाट प्राप्त गरेको तथ्यांक पोलिटिकोले सार्वजनिक गरेको दस्तावेजसँग मिल्दोजुल्दो रहेको दाबी गरिएको छ ।

ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित दस्तावेजहरू धमाधम सार्वजनिक भएपछि अमेरिकामा भइरहेको विदेशी हस्तक्षेपबारे ठूलो बहस उठिरहेको छ । 

रूसले यसअघि जस्तो ह्याकिङका प्रयासहरू अहिले गरेको छैन । अनुसन्धानकर्ता र साइबर सुरक्षा विशेषज्ञको हवाला दिँदै न्युयोर्क टाइम्स भन्छ, 'युक्रेनप्रतिको अमेरिकी समर्थनलाई कमजोर बनाउने प्रयासस्वरूप रूसले गरेको साइबर आक्रमणलाई अमेरिकाले निस्तेज गरिदिएको थियो । रूसले फेरि ट्रम्पलाई नै सत्तामा देख्न चाहेको हुनाले उनको चुनावी अभियान ह्याक गर्ने प्रयास नगरेको हुनसक्छ ।'

ह्याकिङमा यसअघि चिनियाँ समूहहरू पनि संलग्न हुँदै आएका थिए । तर, उनीहरूले पनि अहिलेसम्म कहीँ साइबर आक्रमण गरेको नदेखिएको न्युयोर्क टाइम्सको दाबी छ ।

कतिपय अमेरिकी राजनीतिक विश्लेषक र अनुसन्धानकर्ताका अनुसार इरान ट्रम्पलाई पराजित गर्न चाहन्छ । आफ्नो राष्ट्रपति कार्यकालमा ट्रम्प परमाणु सम्झौताबाट बाहिर निस्किएका थिए ।

उनले इरानमा पुनः आर्थिक प्रतिबन्धहरू लागू गरेका थिए भने जनवरी २०२० मा ट्रम्पकै आदेशमा इरानका कमान्डर मेजर जनरल कासिम सुलेमानीको हत्या भएको थियो ।

हत्याको चार वर्षपछि पनि इरान सुलेमानीको बदला लिन प्रयासरत देखिन्छ । गत हप्ता इरानको न्याय विभागले इरान भ्रमण गरेका केही पाकिस्तानी नागरिकमाथि अमेरिकाका राजनीतिक व्यक्तिहरूको हत्या गर्ने योजना बनाएको आरोप लगाएको थियो, त्यसमा ट्रम्प पनि समावेश थिए ।

यद्यपि न्युयोर्क टाइम्स भन्छ, 'गत जुलाई १३ मा पेन्सिलभानियामा भएको ट्रम्प हत्या प्रयासमा इरान संलग्न भएको कुनै प्रमाण छैन ।'

ट्रम्पले इरानविरुद्ध आफूले लगाएको प्रतिबन्धलाई गौरवका साथ प्रस्तुत गर्ने गरेका छन् । गत साता इरानका एक नेताले ह्वाइट हाउसमा ट्रम्पलाई देख्न नचाहेको बताएका थिए ।

माइक्रोसफ्टले पत्ता लगाएको ह्याकिङ प्रयास ट्रम्पको अभियानमा केन्द्रित थियो भनेर पुष्टि गरेको छैन । तर, ट्रम्पको अभियानले भने आफूमाथि लक्षित भएको आरोप लगाइरहेको छ ।

एक अन्तर्वार्ताका क्रममा माइक्रोसफ्ट कम्पनीका ग्राहक सुरक्षा प्रमुख टम बर्टले भनेका छन्, 'गत जुनमा इरानको गुप्तचर अपरेसनसँग सम्बन्धित इरानी टोलीले एक पूर्व अभियान सल्लाहकारको इमेल खाता ह्याक गर्न सफल भएको थियो ।'

तर, बर्टले उक्त ह्याकिङ प्रयास ट्रम्पविरुद्ध हो कि होइन भन्ने कुरा खुलाउन अस्वीकार गरे । उनी यस्तो विवरण पीडितको अनुमति लिएर सार्वजनिक गर्ने माइक्रोसफ्टको नीति रहेको बताएर उम्किए ।

इरानले २०२० को राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्न खोज्दा अपनाएको प्रविधि पनि अहिलेको जस्तै थियो । तर, यसपटक इरानी प्रयास अझ बढी परिष्कृत रहेको अमेरिकी अधिकारीको दाबी छ ।

बर्टले इरान ह्याकिङमा सफल भयो कि भएन भन्ने विषय पनि खुलाउन चाहेनन् ।

salt training

कमेन्ट गर्नुहोस्