
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मोहन वैद्य किरण नेतृत्वको पार्टी फेरि फुटेको छ । वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेका हुन् ।
१२ वर्षसम्म साथ दिँदासमेत वैद्यको सोचमा परिवर्तन नभएको भन्दै गजुरेलसहित नेताहरूले विद्रोह गरेका हुन् । उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् ।
यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।
००००
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ७३ जनाको मृत्यु भएको छ ।
बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाए ।
००००
सरकारले कर्मचारीको तलब वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कर्मचारीको तलबमान समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पेस भएसँगै ठोस निर्णय गर्नुअघि अर्थ मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले तलबमान निकासा गर्नका लागि अर्थ मन्त्रालयलाई आवश्यक सबै खाका पेस गर्न भनिएको बैठकपछि जानकारी दिए ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन् । अस्पतालहरुले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड सोमबार मन्त्रालयमा बुझाएको सो मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्री प्रदीप पौडेलको नौ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कोर्ड बुझाएको उनले बताए । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ ।
पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।
००००
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार काठमाडौं आएका उनलाई साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले बिदाइ गरेकी हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच छलफल भएको छ ।
स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको आयोगले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
००००
सत्तामा हुँदा विपक्षीजस्तो व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन् ।
राजनीतिकरूपमा नेकपा एमालेसँग सत्ता समीकरण बनाइसकेपछि यसको गुणदोषका आधारमा समालोचना गर्नुपर्नेमा नेताहरूले ‘स्टन्ट’ गरेको भन्दै केन्द्रीय समितिमा कुरा उठेको हो ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले समूहका नेतादेखि महामन्त्री र युवा नेतासम्मले सार्वजनिक खपतका लागि एकपछि अर्को ‘स्टन्ट’ गरेको बताए ।
यसैबीच कांग्रेसले जारी केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । २३ साउनदेखि जारी बैठक सोमबार पनि नसकिएपछि कांग्रेसले अर्को बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।
सुशासनका पक्षमा प्रभावकारी काम गर्न माग गर्दै सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव दिएका हुन् ।
उनले प्रशासनको सुधार, स्थानीय सरकारका बेथिति र भ्रष्टाचार नियन्त्रण, मिटरब्याज पीडितको समस्या समाधान, खानेपानी सिँचाइ, बजार र मलको व्यवस्था गर्न पनि माग गरेका छन् ।