
केन्द्रीय कारागार निर्माण कार्य पूरा भएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो ।
महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताए ।
कूल सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।