
काठमाडौं, १२ कात्तिक — ग्रीसको उग्रदक्षिणपन्थी गोल्डन डन पार्टीको वेबसाइटमा एक हिन्दू महिलाको तस्वीर देख्दा तपाईं छक्क पर्नुहुन्छ । ती महिलाले नीलो सारी लगाएकी छन् र उनी जर्मन तानाशाह हिटलरको प्रतिमालाई श्रद्धापूर्वक हेरिरहेकी छन् ।

उनी हुन् सावित्री देवी । उनले द लाइटनिङ एन्ड द सन नामक किताबमा हिटलरलाई विष्णु भगवानको अवतार भनी लेखेकी थिइन् । त्यही किताबमार्फत उनले नाजी राष्ट्रवाद फेरि उदय हुने बताएकी थिइन् ।
सावित्री देवीको कुरा अहिले सत्य साबित भइरहेको छ । अमेरिका र युरोपमा बिस्तारै दक्षिणपन्थी शक्तिहरूको उदय भइरहेको छ । यस्तोमा उनको नाम पनि चर्चामा आउन थालेकी छन् । अमेरिकाका दक्षिणपन्थी नेता रिचर्ड स्पेन्सर र स्टिभ ब्याननले सावित्री देवीको कामलाई उजागर गर्न थालेका छन् ।
सावित्री देवीकी आमा बेलायती अनि बुवा ग्रिसेली थिए । उनी फ्रान्सको लियोनमा जन्मेकी थिइन् ।
उनले शुरुदेखि नै समतावादी विचारधारालाई तुच्छ बताउँदै आएकी थिइन् । सन् १९७८ मा छापिएको एक अन्तर्वार्तामा उनले एक नराम्री केटीले राम्री केटीसँग कुनै हातलमा बराबरी गर्न नसक्ने बताएकी थिइन् ।
सन् १९२३ मा उनी एथेन्स पुगेकी थिइन् । ग्रीस र जर्मनी पीडित राष्ट्र भएको उनी मान्थिन् ।
यहुदीहरूका विरुद्ध हिटलरको क्रूर कारवाहीलाई सावित्री देवीले आर्य वंश बचाउने कदम मान्थिन् । उनी हिटलरलाई फ्युहरर वा नेता मान्थिन् ।
सन् १९३० को शुरुवातमा सावित्री देवी भारत आइन् । भारतमा अन्तर्जातीय विवाह नहुने हुनाले शुद्ध आर्य भेटिन्छन् भन्ने उनलाई विश्वास थियो ।
सावित्रीमाथि अंग्रेज अधिकारीहरूको नजर थियो । त्यसैले उनी भारतमा रेलको चौथो श्रेणीका डिब्बाहरूमा यात्रा गर्थिन् । उनले भारतीय भाषाहरू सिकेकी थिइन् । उनले एक बंगाली ब्राह्मणसँग विवाह गरिन् । आर्यसित विवाह गरेकोमा उनी खुशी थिइन् ।
उनले हिन्दू मिथक र फासिवादलाई सम्मिश्रण गरेकी थिइन् । हिटलर समयको चालविरुद्ध हिँड्ने व्यक्ति भएको र कलियुग अन्त्य गरेर आर्यहरूको प्रभुत्व भएको स्वर्णिम युगको शुरुवातकर्ता हुने उनले बताएकी थिइन् ।
सावित्री देवीले कोलकातामा हिन्दू राष्ट्रवादको प्रचारका लागि काम गरिन् । हिन्दूहरू नै आर्यका असली उत्तराधिकारी भएको र भारत एक हिन्दू राष्ट्र भएको विचारधारा उनी अपनाउँथिन् ।
सन् १९४५ मा जर्मनीमा नाजीहरूको पतन भएपछि सावित्री देवी युरोप पुगिन् ।
उनी सधैं शाकाहारी रहिन् । संसारलाई उनी आफ्नै दृष्टिकोणले हेर्थिन् र प्रकृतिको नजिक गएर त्यसलाई अनुभव गर्न मन पराउँथिन् ।
सन् १९४८ मा उनी जर्मनी पुगिन् । त्यहाँ उनले नाजीहरूको समर्थन गर्ने अनेकौं पर्चा बाँडिन् र नारा लगाइन्, ‘एक दिन हामीहरू फेरि उठ्नेछौं र जित्नेछौं । आशा र प्रतीक्षा गर्नुहोला । हिटलरको जय होस् ।’
बेलायती अधिकारीहरूले जेलमा बन्द गर्दा आफू खुशी भएको सावित्री देवीले पछि बताइन् । जेलमा हुँदा आफ्ना नाजी साथीहरूको नजिक हुन पाएकोमा उनी खुशी थिइन् । पछि सावित्रीका पतिले भारत सरकारको सहायताले उनको सजाय घटाए ।
सावित्रीको बिहे र पतिसँगको उनको सम्बन्धमाथि संशय कायम रहिरह्यो । असित मुखर्जीसँग उनको बिहे भएको कुरा धेरैले मान्दैनन् किनकि विदेशीलाई त्यतिखेरका ब्राह्मणले बिहे गरे होलान् र ?
जीवनका अन्तिम वर्षमा सावित्री भारत फर्किन् । उनी भारतलाई नै आफ्नो घर मान्थिने । दिल्लीको एक फ्ल्याटमा बस्थिन् उनी । नजिकका बिरालोहरूलाई खाना खुवाउँथिन् । हिन्दू विवाहिताहरू जस्तै गरी उनी सुनको गहना लगाउँथिन् ।
सन् १९८२ मा उनको मृत्यु बेलायतमा उनको साथीको घरमा भयो । उनका अस्थिलाई फासीवादी सम्मानका साथ अमेरिकी नाजी नेता जर्ज लिंकन रकवेलको चिहाननजिक राखियो ।
सावित्री देवीलाई भारतमा धेरैले बिर्सिसकेको भएपनि उनले भारतमा हिन्दू राष्ट्रवादको प्रचारका लागि भूमिका निर्वाह गरेकी थिइन् । अहिले नरेन्द्र मोदीको शासनकालमा हिन्दू राष्ट्रवाद चर्किएको छ ।
बीबीसी हिन्दीबाट