
कलाकार ‘सिते बा’ भनिने काभ्रेका मधुसुदन पाठकसँग शनिबार संसदीय समितिले बयान लिएको छ । सूर्य थापा नेतृत्वको ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले उनीसँग बयान लिएको हो ।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न आरोपीमध्ये उनीसँग बयान लिइएको थापाले जानकारी दिए ।
पाठक ज्येष्ठ वचत तथा ऋण सहकारी संस्थाका सचिव हुनुका साथै अन्य ८ वटा सहकारी संस्थाहरूसँगसमेत आबद्ध छन् । उनलाई समितिको बैठकमा बोलाइए ठगीसँग सम्बन्धित विषयमा बयान लिइएको बताइएको छ ।
कुमार कट्टेल र अर्जुन घिमिरेको टेलिश्रृङ्खला 'सक्किगो नि'मा ‘सिते बा’ को भूमिकामा खेलेर चर्चा कमाएका उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार समेत बनेका थिए ।
पछिल्लो समय सहकारी ठगीमा मुछिएपछि उनी सो टेलिश्रृङ्खलामा देखिएका छैनन् ।