०६ साउन २०८३, बुधबार

जन्म दिनको उपलक्ष्यमा थाइल्याण्डका राजाले दिए पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

भदौ २, २०८१
काठमाडौं
जन्म दिनको उपलक्ष्यमा थाइल्याण्डका राजाले दिए पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी

थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिएका छन् । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा हजारौं व्यक्तिसँगै ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रालाई पनि आममाफी दिएको एएफपीले जनाएको छ ।

राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।​

थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका थाक्सिन पनि रहेको बताए ।

थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केका थिए । फर्केलगत्तै उनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

थाई संसद्ले शुक्रबार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । उनी राज्यको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् र आफ्ना बुबा र फुपु यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारका तेस्रो सदस्य हुन् ।

राज्यको संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई प्रधानमन्त्री बनाइएको हो ।
 

कमेन्ट गर्नुहोस्