![अनुसन्धानमा युवा वैज्ञानिकलाई १२ लाखसम्म सहयोग [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/image_2024-08-18_074038576_kgyxvDhCCW.png)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले 'युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम'का लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
आइतबार प्रकाशित सूचनाअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत प्रस्ताव आह्वान भएको हो ।
जसअनुसार विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूले २१ दिनभित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।
अनुसन्धान अनुदानका लागि व्यक्ति तथा समूहगत अनुसन्धानका लागि पाँच लाख, संस्थागतका लागि दश लाख र बहु विधागतका लागि बाह्र लाखसम्म बजेट रहेको सूचनामा उल्लेख छ ।
माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि पचास हजार र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि एक लाख र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि एक लाखसम्म अधिकतम बजेट सीमा रहेको सूचनामा उल्लेख छ ।
विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्ने सूचनामा उल्लेख ।
अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्ने जनाइएको छ ।