खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिएका छन् ।
आज महांकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहोर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौंका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिएका हुन् ।
'विभिन्न ठाउँमा खानेपानीका पाइप फुटेर पानी चुहावट भइरहेको जनगुनासो छ,' उनले भने, 'चुहावट नियन्त्रण गरी जनतालाई पानी वितरण गरौं ।'
मन्त्री यादवले खानेपानीका पाइप फुटेर त्यसमा दिसा मिसिँदा फोहोर पानी पनि आपूर्ति भइरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन निर्देशन दिए ।
खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने उनको भनाइ छ । 'शुद्ध खानेपानी वितरणका लागि चाहिने बजेटको जोहो गर्ने जिम्मा म लिन्छु । पानीको चुहावट रोक्नुस् । काठमाडौंका जनतालाई वर्षभरि शुद्ध पानी खुवाउनुस्,' उनले भने ।
उनले महांकाल चौरमा निर्माणाधीन नयाँ पोखरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।