१० असार २०८३, बुधबार

झापाका १२ स्थानीय तहका आफ्नै अस्पताल

भदौ ५, २०८१
झापा
झापाका १२ स्थानीय तहका आफ्नै अस्पताल

झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैंले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । 

प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी अस्पताल समेत रहेको जिल्लामा १५ शय्याभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ ।

मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत् पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए।

दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिरसमेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् । 

मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा छ । अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

नगर अस्पतालले आफ्नै फार्मेसी समेत शुरू गरेको मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए । नगर अस्पताल सञ्चालन भएको भवनमा यसअघि एक जना एमबीबीएस चिकित्सकको मात्र दरबन्दी  थियो  ।

मेचीनगरको १५ वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको छ । मेचीनगर-१० मा सरकारी, सामुदायिक र निजी क्षेत्रबाट गरी तीन वटा अस्पताल सञ्चालनमा छन् ।

मेची आम्दा अस्पताल सामुदायिक अवधारणाबाट सञ्चालित अस्पताल हो भने निजी क्षेत्रबाट १५ शय्याको शिखर अस्पताल समेत सञ्चालित छ । रासस

salt training

कमेन्ट गर्नुहोस्