२१ जेठ २०८३, बिहीबार
सन्दर्भ : माओवादीभित्रको अन्तर्विरोध

‘कांग्रेस–एमाले मिलाउने माओवादी नै हो’

भदौ ५, २०८१
काठमाडौं
‘कांग्रेस–एमाले मिलाउने माओवादी नै हो’

सत्ताबाट बहिर्गमनलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय तहका नेताले ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा’ सरकार ढालिएको जिकिर गरे ।

कांग्रेस–एमालेको समीकरण ‘वैदेशिक शक्ति केन्द्र’ले मिलाइदियो भन्ने उनीहरूको सार्वजनिक अभिव्यक्ति थियो ।

तर, पार्टी मूल नेतृत्वको उक्त अभिव्यक्तिलाई यतिखेर माओवादीमा फरक मत राखेर चर्चामा रहेका उप–महासचिव जनार्दन शर्माको भनाइले ठाडै अस्वीकार गरेको छ ।

फरक मतसहित मूल नेतृत्वमाथि प्रश्न गरेका शर्माले पार्टीको भित्री कुरा लोकान्तरसँग मंगलबारको भेटमा खुलाएका छन् ।

उनले भने, ‘कांग्रेस–एमालेलाई अरू कसैले मिलाएको होइन, यो माओवादी आफैंले मिलाइदिएको हो । वैदेशिक शक्तिकेन्द्रले मिलाएको भन्ने बेक्कारको कुरा हो । यस विषयमा पार्टी नेतृत्वले गल्ती स्वीकार गरिसकेको छ ।’

शर्माको पछिल्लो भनाइले माओवादी केन्द्रभित्रको वैचारिक मतभेद खुलस्त हुन्छ । शर्मालाई संख्यात्मक समर्थन कम भए पनि पार्टीभित्रको विवाद नसुल्झिएको प्रस्टै देखिन्छ ।

नेतृत्वकै गल्तीले पार्टी ३ वर्षसम्म सरकारको नेतृत्वमा रहिरहने अवसर गुमेको शर्माको निष्कर्ष छ । पार्टीले सरकारको नेतृत्व गुमाएको सन्दर्भलाई उनले सोझो शब्दमा भने, ‘कांग्रेससँग रहेको भए कम्तीमा पार्टीले ३ वर्ष सत्ताको नेतृत्व गर्थ्यो । अथवा, शुरूमा एमालेसँगै बसेको भए पनि ३ वर्ष त पक्कापक्की नै थियो । कहिले यता, कहिले उता किन गरियो ? त्यसको कारण चाहिएन ? यसैका कारण पछिल्लो समय सत्ताबाट बाहिरिनुपरेको हो । यसमा पार्टीले गल्ती स्वीकारिसकेको छ ।’ 

शर्माको यो भनाइले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा विदेशी शक्तिले सत्ताच्युत’ गराए भनी दिँदै आएको अभिव्यक्ति ‘सार्वजनिक खपत’का लागि मात्र थियो भन्ने पुष्टि हुन्छ ।

बाहिरबाट हेर्दा शर्मा केही मत्थरजस्तो देखिएका छन् । शर्माको यो मत्थर ‘अल्पकालीन’ हो वा ‘दीर्घकालीन’ भन्ने बहस पनि चलिरहेको छ । तर, उनको ‘मुड’ हेर्दा माओवादीभित्रको अन्तरविरोध सहजै हल हुने देखिन्न, बरु बल्झिएको रूपमा बुझ्न सकिन्छ ।

शर्माको पछिल्लो फरक मतका कारण माओवादी स्थायी समिति बैठकको अन्तिम दिन (गत साउन ३१ गते)सम्म आइपुग्दा पार्टीभित्र दिइएको चुनौतीलाई अध्यक्ष प्रचण्डले कसरी हल गर्छन् भन्ने संशय रह्यो । उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई मूल नेतृत्व छाड्न भन्दै स्थायी कमिटीमा लिखित प्रस्ताव गरेपछि पार्टीभित्र उत्पन्न ‘तरंग’ अध्यक्षले केही कम गराए, तर पूरै हल भएन । 

अध्यक्ष प्रचण्डको जवाफपछि शर्माको प्रस्तावमाथि आगामी असोज ४ गतेदेखि शुरू हुने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । सोही कारण बाहिरबाट हेर्दा शर्मा केही मत्थरजस्तो देखिएका छन् । शर्माको यो मत्थर ‘अल्पकालीन’ हो वा ‘दीर्घकालीन’ भन्ने बहस पनि चलिरहेको छ । तर, उनको ‘मुड’ हेर्दा माओवादीभित्रको अन्तरविरोध सहजै हल हुने देखिन्न, बरु बल्झिएको रूपमा बुझ्न सकिन्छ ।

आगामी केन्द्रीय समिति बैठकका लागि आज (बुधबार)देखि प्रदेशस्तरीय परामर्श समितिको बैठक शुरू हुँदैछ । परामर्श बैठकका लागि शर्मा देश दौडाहाको तयारीमा छन् । परामर्श बैठकमा भूगोलका सातै प्रदेशभित्रका केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी हुनेछन् ।

यसक्रममा स्थायी समिति बैठकमा शर्माले प्रस्तुत गरेको फरक मतका विषयमा समेत छलफल हुनेछ । आज केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बागमती प्रदेशको परामर्श बैठक शुरू हुँदैछ । बैठकमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिवहरू समेतको सहभागिता हुने बताइएको छ ।

null

बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहतिका प्रस्तावमाथि परामर्श लिने अन्तिम तयारी भएको छ । आगामी असोज ४ गते हुने केन्द्रीय समिति बैठकको अघिल्लो दिन असोज ३ गतेसम्म विभिन्न कमिटी र मोर्चाहरूबाट परामर्श लिने तयारी गरिएको छ । परामर्श बैठकका लागि देशदौडाहामा निस्किन लागेका शर्मा मंगलबार नेता/कार्यकर्ताको घेरामा व्यस्त देखिन्थे ।

‘अब एक महिना सम्पर्क कमै होला, समय नभएकाले छोटो कुरा गरौं’, लोकान्तरसँग शर्माले उनकै सम्पर्क कार्यालय ललितपुर बखुन्डोलमा भने, ‘फरक मत राखेपछि झन् व्यस्त भएँ । एउटा बुँदाको जवाफ आयो अध्यक्ष कमरेडबाट । जनार्दनले पार्टी फुटाउन लागेको कुरा झूट हो भनेर आफैँ खण्डन गर्नुभयो ।’

हाकाहाकी जवाफ दिने स्वभावका शर्माले बाँकी बुँदा केन्द्रीय समितिमा छलफल हुने बताए । के केन्द्रीय समिति बैठकले अध्यक्षले नेतृत्व छाड्नुपर्छ भन्ने प्रस्ताव पारित गर्ला ? भन्ने पटक–पटकको जिज्ञासामा उनले भने, ‘एउटा बुँदा उहाँले नै खण्डन गर्नुभयो । बाँकी बुँदा केन्द्रीय समितिमा छलफलका लागि जान्छ । उहाँलाई सबै नेतृत्व छाड्नुपर्छ भनेको होइन, वैचारिक र सत्ताको नेतृत्व लिनुस् भनेकै छौं नि ! यही विषयमा केन्द्रीय समितिमा छलफल हुन्छ, निष्कर्ष के हुन्छ, अहिल्यै भन्न सकिन्न ।’

अध्यक्ष प्रचण्ड प्रस्तावलाई स्वीकारेर पार्टीभित्र छलफल चलाउन मात्र तयार भएको उनले बताए । अध्यक्षसँग सहमति भएर अन्तर्विरोध रोकियो भन्नु गलत भएको उनको भनाइ छ ।

‘यो विवाद होइन, प्रस्ताव हो । प्रस्ताव स्वीकार गरेपछि छलफल हुन्छ’, उनले भने ।

प्रचण्डले मूल नेतृत्व छाड्नुपर्छ भन्ने आफ्नो अडानमा भने शर्मा टसकोमस देखिएनन् ।

उनको तर्क छ, ‘नेतृत्व भनेको वैचारिक र सत्ता सञ्चालनको पनि हुन्छ । संगठनको जिम्मा नयाँ नेतृत्वलाई दिऔं भनिएको हो । यो कुरा केन्द्रीय समितिमा छलफलमा जान्छ । निर्णय के हुन्छ, त्यो केन्द्रीय समितिको बैठकबाटै थाहा हुन्छ ।’

प्रचण्डले आफू सच्चिने भनेर पटक–पटक प्रतिबद्धता जनाए वा बैठकबाट निर्णय गराए पनि उनी नसच्चिएको गुनासो पार्टीभित्र छ । प्रचण्डले बैठकमा कमजोरीको केही ‘रियलाइज’ गरेजस्तो गर्ने, तर कार्यान्वयन नगर्ने पुरानै शैली दोहोर्‍याउने ‘त्रास’बीच फरक मत राखेर पार्टीमा छलफल चलाउने तयारीमा शर्मा छन् । पार्टीले यतिखेर जनतासँग लिएर जाने एजेन्डा समेत तयार नपारेको शर्माले बताए ।

आफूले १० वर्षे, २० वर्षे र ३० वर्षे योजनाका आधारमा एजेन्डा निर्माण गरेर जनतामा जान प्रस्ताव गरेको उनले बताए । लामो समय सत्तामा रहँदा नेता कार्यकर्तालाई समेत बेवास्ता गरेका कारण जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्षका आधारमा उक्त प्रस्ताव गरेको उनको भनाइ छ ।

आफूले प्रस्ताव गरेअनुसार अहिले नै अध्यक्ष प्रचण्डले मूल नेतृत्व छाडिहाल्छन् भन्नेमा शर्मा छैनन् । यद्यपि, मूल नेतृत्वमा कति समय रहने, वैचारिक तथा सांगठनिक विषयलाई नयाँ उचाइमा कसरी लैजाने भन्ने विषयमा विधि तथा पद्धति बसाल्न र कार्यान्वयनमा लान पाए आफू सफल हुने उनको बुझाइ छ ।

एजेन्डा तयका लागि वैचारिक अध्ययन/अनुसन्धान गर्न विज्ञसहितको टोलीको निष्कर्षबाट संगठन निर्माण गरेर जाऔं भन्ने प्रस्ताव राखिएको उनले दोहोर्‍याए ।

‘जनताको चाहना र युवापंक्तिको मानसिकतालाई ध्यान दिएर अनुसन्धान र अध्ययनमार्फत कार्ययोजना बनाऔं भनिएको हो’, उनले भने । 

वर्तमान समाजको समाजशास्त्रीय अध्ययन र वर्ग संघर्षको परिभाषा नयाँ ढंगले हुनुपर्ने उनले बताए । परम्परागत शैलीको पार्टी संरचनाबाट ती कार्य सम्पन्न गर्न सम्भव नदेखिएका कारण पार्टीलाई नयाँ विचारको आधारमा नयाँ संरचनामा लान फरक मतका रूपमा प्रस्ताव ल्याएको उनले बताए ।

शर्माको पछिल्लो फरक मतको प्रस्तावले ‘पार्टी फुटाउन लागेको भन्ने हेडक्वार्टरवरपरको’ आरोपबाट उनलाई केही राहत मिलेको छ । प्रचण्डले कार्यकर्ताबीच २ ठाउँमा ‘प्रभाकरले पार्टी फुटाउन खोजेको भनिएको छैन’ भनिदिएका कारण उनले केही राहत महसुस गरेका छन् ।

भेटका क्रममा शर्माले ‘अध्यक्षले नै मलाई पार्टी फुटाउन लागेको भन्ने आरोप खण्डन गरिसक्नुभयो’ भनेर पटक–पटक दोहोर्‍याएका थिए । 

आज (बुधबार)देखि एक महिनासम्म देश दौडाहामा निस्केर शर्माले आफ्नो प्रस्तावबारे परामर्श बैठकमा सहभागी नेताहरूको धारणा के छ भनेर मनोविज्ञान बुझ्ने तयारी गरेका छन् ।

आफूले प्रस्ताव गरेअनुसार अहिले नै अध्यक्ष प्रचण्डले मूल नेतृत्व छाडिहाल्छन् भन्नेमा शर्मा छैनन् । यद्यपि, मूल नेतृत्वमा कति समय रहने, वैचारिक तथा सांगठनिक विषयलाई नयाँ उचाइमा कसरी लैजाने भन्ने विषयमा विधि तथा पद्धति बसाल्न र कार्यान्वयनमा लान पाए आफू सफल हुने उनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्