
भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– १२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो ।
माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो ।
पाठेघरमा सिस्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो ।
मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए ।
बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए ।
मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् ।
मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थिएटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए ।
उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । अस्पतालले समेत आन्तरिक छानबिन समिति बनाएको जनाएको छ ।
मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।
अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।