
बुधबार बिहान १० बजेदेखि बन्द रहेको नागढुंगा–काठमाडौं सडक खण्ड झण्डै ७ घण्टापछि एकतर्फी खुलेको छ ।
नागढुंगाभन्दा तल नाग मन्दिर नजिकै पहिरो गएर त्रिभुवन राजपथ अवरुद्ध भएपछि सयौं यात्रुहरू अलपत्र परेका छन् ।
पहिरो खसिरहेको अवस्थामा पनि चन्द्रागिरि नगरपालिका र प्रहरीको संयुक्त प्रयासमा एकतर्फी सडक खुलाइएको नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए ।
उनका अनुसार अहिले पनि माथिबाट ढुंगा र माटो खस्नेक्रम जारी छ ।
‘अहिले पनि पहिरो खस्नेक्रम जारी छ, ढुंगाहरू झरिरहेका छन्, हामीले डोजरमार्फत एकतर्फी बाटो खुलाएका छौं,’ थपलियाले भने, ‘ठूलो पहिरो खसेको अवस्थामा बन्द गर्ने र फेरि खुलाउने गर्दै एकतर्फ बाटो खुलाइरहेका छौं ।’