
पछिल्लो ३ घण्टामा कैलालीको टीकापुर, बलिया, बचिला र आसपासमा मध्यम वर्षा मापन भएको छ । यी क्षेत्र भई बहने पथरिया, कुलरिया, जमरा र अन्य स-साना खोलामा आकस्मिक बाढी तथा होचो भू-भागमा डुबानको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी सर्लाही, सिन्धुपाल्चोक र उदयपुरलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
उदयपुरको सुन्दरपुर वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्र भएर बहने त्रियुगा खोलालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना छ ।
सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । मेलम्ची बजारलगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
यसैगरी बागलुङस्थित म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ छ । जसका कारण मंगलबार रातिदेखि वर्षा भइरहेको हो ।