
काठमाडौं, १३ कात्तिक — शरीरमा ट्याटू बनाउने आजकल फेशन चलेको छ । तर अनेकौं देशका आदिवासीहरूका लागि यो फेशन हैन, प्राचीन परम्परा नै हो ।

यो प्रथाका पछाडि रहेको कथा अचम्मको छ । भारतको छत्तीसगढमा बस्ने आदिवासीहरू आफ्ना छोरीहरूलाई राजाको नजरबाट बचाउनका लागि छाती र ढाडमा ब्लाउज जस्तो ट्याटू बनाएको बताउँछन् ।
त्यहाँका बैगा आदिवासी महिलालाई १२ देखि २० वर्षसम्म ट्याटू लगाउनु नै पर्छ । शरीरका विशेष भागमा ट्याटू खोपिन्छ । त्यही प्रक्रियामा पीडा सहनका लागि बूढीहरूले युवतीलाई साहस दिन्छन् ।
फरक फरक उमेरमा शरीरका अलग हिस्सामा ट्याटू लगाइन्छ । शुरुवात चाहिँ निधारबाट हुन्छ । त्यसपछि गोडा, जाँघ र हातपछि अनुहारको पालो आउँछ । सबभन्दा अन्त्यमा ढाडको पालो आउँछ ।
ट्याटू लगाउने महिलालाई बदनीन भनिन्छ । ट्याटू लगाउने महिला भएको घरमा पुरुषलाई प्रवेश वर्जित छ । झुक्केर पनि पुरुषले ट्याटू बनाउने प्रक्रिया हे–यो भने उसले जीवनभरि साम्भरको शिकार गर्न सक्दैन भन्ने मान्यता छ ।
ट्याटू लगाउन शुरु हुनुका पछाडि बैगा जनजातिको मान्यताअनुसार एक राजा अत्यन्त कामुक प्रवृत्तिका थिए ।
उसले हरेक दिन नयाँ नयाँ केटीलाई शिकार बनाउँथ्यो । केटीको शरीर उपभोग गरेपछि शरीरमा ट्याटू लगाइदिन्थ्यो ।
उसबाट बच्नका लागि मानिसहरूले आफ्ना कुमारी छोरीहरूलाई ट्याटू लगाउन थाले । यसो गर्दा राजाबाट बच्न सकिने उनीहरू ठान्थे । पछि यो नै परम्परा बन्यो ।
शरीरमा ट्याटू लगाएपछि उक्त व्यक्ति मरेपछि पनि उसको पहिचान रहन्छ भन्ने मान्यता छ ।
मरेपछि शरीर नष्ट हुन्छ तर यो ट्याटू आत्मामा अंकित हुन्छ र स्वर्गमा उनीहरूको पहिचान बन्छ भन्ने उनीहरू मान्छन् ।
यस्तो ट्याटू नबनाउने महिलाले स्वर्गमा भगवानको सामना गर्दा खतरनाक हतियार सब्बलबाट ट्याटू बनाउनुपर्ने मान्यता छ ।
एजेन्सी