
किएभ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्यान्ड र युक्रेनको भ्रमणका शिलशिलामा शुक्रवार किएभ पुगेका छन् ।
प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रवार राजधानी किएभमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
रुसले युक्रेनमा आक्रमण शुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रुसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।
‘युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनःस्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ,’ मोदीले आफ्नो भ्रमणअघि भनेका थिए ।
उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
रुसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ ।
युक्रेनका धेरैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको साथीका रूपमा हेरिएका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्छन् वा सक्तैनन् स्पष्ट छैन ।
मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताए ।
युक्रेन प्रस्थान गर्नुअघि उनी बिहीवार पोल्यान्ड पुगेका थिए ।
‘एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,’ मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा लेखेका छन् ।
जेलेन्स्कीले मोदीसँगको भेटमा ‘धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताएका छन् ।
भारत र रुसबीच ऐतिहासिक रूपमा न्यानो सम्बन्ध भए तापनि भारतले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारीलाई पनि बलियो बनाएको छ ।
नयाँ दिल्लीले सन् २०२२ मा रुसले गरेको आक्रमणको स्पष्ट निन्दा गरेको छैन भने क्रेमलिनको आलोचना गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित भएको थियो । तर, भारतले दुवै पक्षलाई प्रत्यक्ष वार्ताको माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।
तर शान्ति सम्झौता पहिलेको भन्दा अहिले धेरै टाढा देखिन्छ ।
युक्रेनले सन् २०२२ मा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको थियो भने मस्कोले हालै रुसको पश्चिमी कुस्र्क क्षेत्रमा आश्चर्यजनक रूपमा जवाफी आक्रमणका बीच किएभसँग वार्ता नगर्ने बताएको थियो ।
रुसी नेता भ्लादिमिर पुटिनले यस वर्षको शुरूमा वार्ताको पूर्वशर्तका रूपमा किएभलाई मस्कोले कब्जा गरेको दाबी गरिएका युक्रेनका चार क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन माग गरेका थिए ।
किएभका अनुसार अस्थायी रूपमा लडाइँ रोकिएमा मस्कोले भविष्यमा हुने कुनै पनि आक्रमणका लागि पुनः सङ्गठित हुन र पुनः आक्रमण गर्न समय दिनेछ ।