०७ असार २०८३, आइतबार

गुण्डागर्दी शैलीमा बुटवलको जुत्ता मेलामा तोडफोड र हातपात

भदौ ९, २०८१
बुटवल
गुण्डागर्दी शैलीमा बुटवलको जुत्ता मेलामा तोडफोड र हातपात

बुटवलको डेल्टा मार्ट परिसरमा आइतबारदेखि हुन लागेको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।

मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेका छन् ।

नेपाली लुगा घरको आयोजनामा दशैंसम्म हुन लागेको मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो । 

मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालका अनुसार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरेका थिए । 

मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उता रुपन्देही व्यापार संघले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । 

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । यद्यपि उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको उल्लेख गरे ।

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको मेला आयोजकले बताएका छन् ।  

कमेन्ट गर्नुहोस्