
सङ्खुवासभामा ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ ।
मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा लगिएको थियो । तर चिकित्सकले उनलाई शनिबार साँझ मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएका थिए ।
शव परीक्षण आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिने प्रहरीले जनाएको छ ।
शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डीएसपी श्रेष्ठले बताए ।