०५ असार २०८३, शुक्रबार

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा

कात्तिक २०, २०७४
निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा
काठमाडौं, १४ कात्तिक - निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विवादले प्रवेश पाएको छ। समानुपातिकतर्फ छापिएका सबै मतपत्र रद्द गरी भिन्नाभिन्नै छपाइ हुनुपर्ने माग गर्दै अधिवक्ता सीताराम अग्रवाल रिट लिएर सर्वोच्च पुगेका हुन्।supreme-court

सर्वोच्चले गत बुधबार भिन्नाभिन्नै मतपत्र छाप्ने विषयमा आयोगलाई गम्भीरतापूर्वक लिन भने पनि पालना नभएको प्रश्न अग्रवालले उठाएका छन्। तर, आयोगले समानुपातिकतर्फ एक करोड ७४ लाख मतपत्र छापिसकेको छ। यता, अग्रवालले समानुपातिकतर्फ भाग लिन आयोगमा दर्ता भएका दलको संख्याभन्दा बढी निर्वाचन चिह्न छापिएको प्रश्न उठाउँदै सोमबारै अर्को रिटसमेत दर्ता गराएका छन्।

समानुपातिकका लागि ४९ वटा दल दर्ता भए पनि कानुनविपरीत हुने गरी निर्वाचन चिह्न भने ८८ वटा छापिएकाले बदर गर्न अग्रवालको माग छ। समानुपातिकतर्फ दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायका लागि संविधान र निर्वाचन ऐनअनुरूप ‘क्लस्टर' समेत नराखिएको भनाइ रिटमा छ ।
यसअघि प्रतिनिधिसभा र प्रदेशसभाका लागि भिन्नाभिन्नै ऐन रहेको अवस्थामा प्रत्यक्ष र समानुपातिकका लागि चारवटा मतपत्र नछापिएको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले अर्को रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले अलग्गै मतपत्र छाप्ने सन्दर्भमा ‘आयोगले गम्भीरतापूर्वक लिई विचार गर्ने' भन्दै कात्तिक १ गते ध्यानाकर्षणसमेत गरेको थियो, अन्नपूर्ण पोस्टमा   खबर छ ।
यसअघि पनि केन्द्र र प्रदेशको निर्वाचन रोकिनुपर्ने मागसहित पुरानो शक्ति पार्टीकी महामन्त्री आरजु थापाले अर्को रिट दायर गरेकी थिइन् । उक्त पार्टीलाई आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक्न रिटमा माग थियो । उक्त विवादमा निर्वाचन रोक्न अन्तरिम आदेश नहुने निर्णय भए पनि रिटको अन्तिम फैसला हुन बाँकी छ।
यी मुद्दा थाती रहेकै अवस्थामा सोमबार नै मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न दिनुपर्ने र मतदानको सुनिश्चितता नभएसम्मका लागि निर्वाचन रोक्नुपर्ने माग राखेर महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले अर्को रिट सर्वोच्चमा दर्ता गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्