
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आउँदो १० दिनभित्र आफ्नो पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेश गर्ने भएको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले आगामी १० दिनभित्रमा संश्लेषणसहित प्रतिवेदन राष्ट्रियसभा सचिवालयमा पेश गर्ने निर्णय भएको सभापति मायाप्रसाद शर्माले जानकारी दिए । सचिवालयले पेश गरेको प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल सुरु भएको हो ।
बैठकमा सभापति शर्माले प्रतिवेदन संश्लेषण गरेर लैजाने विषयमा जानकारी गराउँदै सदस्यहरूसँग सुझाव मागेका छन्। उक्त प्रतिवेदनमा समितिले हालसम्म गरेका गतिविधि समावेश छन् ।
बैठकमा समितिका सदस्यहरू नेपाली कांग्रेसका सांसद गोपालकुमार बस्नेत, युवराज शर्मा, पदम परियार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोपाल भट्टराई, रुक्मिणी कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिना, मदनकुमारी शाह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले धारणा राखेका थिए ।