
काठमाडौं, १४ कात्तिक — आईड्रप वा आँखामा हाल्ने झोल आजकल धेरैजनाले प्रयोग गर्छन् । लामो समयसम्म कम्प्युटर र स्मार्टफोन हेरिरहँदा आँखा सुक्ने समस्या आउँछ र झोल प्रयोग गर्नुपर्ने हुन्छ ।

तर यो झोलको भाँडो (बोतल)मा गडबड गरिएको हुन्छ । तपाईंले याद गर्नुभएको होला, भाँडो थिचेर झोल निकाल्दा आँखामा अट्ने भन्दा पनि झोल बढी भएर गालातिर चुहिन्छ ।
धेरैलाई थाहा छैन तर धेरैजसो आईड्रप कम्पनीहरूले बोतल नै यसरी बनाएका हुन्छन् कि त्यसबाट निस्कने झोल खेर जाओस् ।
सुशासनसम्बन्धी काम गर्ने प्रोपब्लिकाले निकालेको एक प्रतिवेदनअनुसार, आईड्रपको बोतलको साइज ठूलो हुनाले मानिसको आँखाले सम्हाल्न सक्नेभन्दा बढी झोल आँखामा पुग्छ । यसको परिणामस्वरूप झोल बढी भएर अनुहारमा फैलिन पुग्छ र नाश हुन्छ ।
खासमा कम्पनीहरूले जानीबुझिकनै बोतलको साइज र प्वाल ठूलो बनाएका हुन्छन् । यसो गर्दा छिट्टो झोल सकिएर मानिसले किनिहाल्नुपर्ने हुन्छ । यसरी झोललाई ट्याब्लेटसँग तुलना गर्ने हो भने हरेकचोटि एउटा ट्याब्लेट खाँदा एक्स्ट्रा ट्याब्लेट फ्याँक्नुपर्ने हुन्छ ।
सन् २००६ मा गरिएको एक अध्ययनअनुसार, आँखाका लागि ड्रपको सही आकार १५यूएल हुनुपर्छ ।
एजेन्सी