०३ साउन २०८३, आइतबार

संकटमा लिम्बू समुदायको धान नाच, नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्था

भदौ १२, २०८१
ताप्लेजुङ
संकटमा लिम्बू समुदायको धान नाच, नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्था

लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो । 

याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर नाच प्रस्तुत गरेका थिए ।

धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह, मेला र अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ । 

लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । चेली माइती र नाता नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । तर, पछिल्लो समय नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुने अवस्थामा पुगेको जानकार टिप्पणी गर्छन् । 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूका अनुसार पश्चिमा संस्कृतिको प्रभाव र युवाको घट्दो रुचिका कारण यो संस्कृति सङ्कटमा परेको हो ।

याक्थुङ सांस्कृतिक परिषद्का जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले पनि धान नाचको महत्वमा जोड दिँदै भने, 'युवा आधुनिकतामा रमाइरहेका छन्, जसका कारण हाम्रो मौलिक संस्कार सङ्कटमा परेको छ ।' उनले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

किरात याक्युङ चुम्लुङ, याक्थुङ सांस्कृतिक परिषद्लगायत सङ्गठनले संस्कृति संरक्षणको प्रयास गर्दै आए पनि यो निरन्तरतालाई संस्थागत रूपमा सशक्त पार्न अझै धेरै कामगर्न बाँकी रहेको उनले बताए। 

धान नाचले सांस्कृतिक गौरवमात्र होइन, सामाजिक एकताको सन्देश पनि प्रवाहित गरिरहेको छ । यस्ता प्रयास जारी रहँदामात्र यो मौलिक नाचले पहिचान बचाइराख्नसक्ने उनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्