०४ असार २०८३, बिहीबार

मुटु ढुकढुक हुनु प्रेमको मात्र लक्षण हैन, अन्य धेरै कुराको संकेत

कात्तिक २०, २०७४
मुटु ढुकढुक हुनु प्रेमको मात्र लक्षण हैन, अन्य धेरै कुराको संकेत

काठमाडौं, १४ कात्तिक — मानिसले अनेक किसिमका भावना अनुभव गर्छ : प्रेम, रिस, घृणा, चिन्ता । प्रत्येक भावनाले शरीरमा परिवर्तन ल्याउँछ । खुशी हुँदा अनुहारमा मुस्कान आउँछ अनि रिस उठ्दा आँखीभौं उचालिन्छ ।


कतिपय अवसरमा हाम्रो शरीरका लक्षणले दिएका संकेतले हामीलाई झुक्याउँछ । कहिलेकाहीँ अनुभवी मानिसले पनि दिमाग के महसूस गरिरहेको छ भन्ने थाहा पाउँदैन ।

अमेरिकाकी मनोवैज्ञानिक लिजा फेल्डम्यान एक दिन ल्याबमा घन्टौं काम गरेपछि बोर भइरहेकी थिइन् । एउटा साथीले उनलाई डेट जान अफर गरे । लिजालाई त्यो साथी खासै मन पर्दैनथ्यो तर जाऊँ न त एकचोटि भनेर उससँग कफी पिउन गइन् ।

कफी पिउँदै गर्दा लिजाले त्यो साथी त्यति नराम्रो रहेनछ भन्ने अनुभव गरिन् । उससँग फेरि एकचोटि डेट जान सकिने उनलाई अनुभव भयो । उनको शरीरले अनेक लक्षण देखाउन थाल्यो ः पेट हल्लिन थाल्यो, टाउको भारी भयो र भावनाको तूफान मनमा उठ्यो ।

घर आउँदाखेरी उनको हालत यस्तो थियो । तर घर पुग्नै लाग्दा उनलाई चक्कर आउन थाल्यो र उल्टी पनि भयो । खासमा उनलाई भाइरल ज्वरो पो आएको रहेछ । उनले भावनाको तूफान भन्ठानेको कुरा त रोगको संकेत पो रहेछ ।

लिजा अमेरिकाको बोस्टन शहरमा रहेको नर्थइस्टर्न विश्वविद्यालयमा मनोविज्ञान पढाउँछिन् । उनले मानिसको भावनामाथि अनुसन्धान गरेकी छन् । लिजाले आफ्नो अनुसन्धान र अनुभवको आधारमा एउटा किताब लेखेकी छन् : हाउ इमोसन्स आर मेड ।

लिजाले किताबमा हामीले शरीरको संकेत बुझ्नका लागि बढी दिमाग लगाउनुपर्ने कुरामा जोड दिएकी छन् । उनले भावनामाथि नियन्त्रणका तरिका पनि बताएकी छन् ।

उनका अनुसार, अनेक अवसरमा दिमागले संकेतहरूलाई घालमेल गरिदिन्छ ।

पेट दुख्दा पेटको संक्रमणको पनि संकेत हो अनि घरबाट टाढा हुनुहुन्छ भने परिवारको याद आउँदा पनि पेट दुख्छ । मुटु जोडले ढुकढुक ग–यो भने तपाईं उत्साहित भएको संकेत हो वा सार्वजनिक भाषण दिनुपर्दा गरिएको चिन्ता पनि हो । अफिसमा धेर कफी पिउनुभएको पनि संकेत हुनसक्छ ।

लिजाका अनुसार, रिस, चिन्ता वा घिनको भावना हामीमा जन्मिँदैखेरी आउँदैन । हाम्रो हुर्काइ, वातावरण र हालत अनुसार यो विकसित हुन्छ । हाम्रो आमाबुवा, साथी, किताब, पुराना यादहरूले हामीलाई विशेष वातावरणमा विशेष प्रतिक्रिया दिन सिकाउँछन् । यिनैको आधारमा हाम्रो भविष्यको व्यवहार निर्धारित हुन्छ ।

भोक, थकान र रोगको संकेत हाम्रो शरीरमा प्रायः एकैखाले हुन्छ । हामीले यिनको फरक छुट्ट्याउनु आवश्यक हुन्छ । लिजाका अनुसार, शरीरका संकेतहरूलाई सही पढ्न जान्नुपर्छ । मानिसले दिमागको अलिक कसरत गरेर यो काम गर्न सक्छ ।

लिजा यसका लागि राम्रो खानपिन र नियमित रूपमा व्यायाम गर्नु आवश्यक मान्छिन् ।

ध्यान र योगबाट पनि शरीरमा देखिने संकेत पढ्न सजिलो हुने उनी बताउँछिन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्