
सीई कन्स्ट्रक्सन प्रालिले 'सीई कर्पोरेट टी-१० प्रतियोगिता'को दोश्रो संस्करण आयोजना गर्ने भएको छ।
प्रतियोगिता असोज ३ र ४ गते काठमाडौंको चुनिखेलस्थित नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उप-विजेता बनेको थियो।
'हाम्रो उद्देश्य दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीहरूलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने, रमाउने माहोल बनाउने र ताजगी प्रदान गर्नु हो,' आयोजक टिमका एक सदस्य अमित पौडेलले भने ।
उनले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुलसमेत बन्ने विश्वास व्यक्त गरेका छन्। साथै प्रतियोगितामार्फत च्यारिटीसमेत गरिने उनले बताए।
यस वर्षको प्रतियोगितामा स्तरीय प्रत्यक्ष प्रसारणको व्यवस्था अनलाइन र टेलिभिजनमा गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुन ६० हजार रुपैयाँ इन्ट्री फी राखिएको छ। प्रतियोगितामा सहभागी हुन भदौ २० गतेसम्म इन्ट्री खुला राखिएको उनले बताए ।
प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेयिंग सेटमा रहनेछन्। यस प्रतियोगितामा नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर रहनेछन्।
सीई कन्स्ट्रक्सन प्रालि नेपालमा ३२ वर्षदेखि हाइड्रोपावर, अपार्टमेन्ट, र अन्य विकासका क्षेत्रमा योगदान दिँदै आएको छ।
कम्पनीले निर्माण, सम्पत्ति विकास, शिक्षा, वित्त र स्वास्थ्यजस्ता विविध क्षेत्रमा पनि काम गरिरहेको छ।