
कोशी प्रदेशका लेखा समूहका कर्मचारी फेरि आन्दोलित भएका छन् । उनीहरूले मंगलवार कोशी प्रदेशसभा सचिवालयअगाडि धर्ना दिएका छन् ।
प्रदेश सरकारले ल्याएको निजामती सेवा ऐन संशोधन विधेयक प्रदेशसभामा छलफलका क्रममा रहेको छ । तर सत्तारुढ दल नेकपा (एमाले)कै प्रमुख सचेतक रेवतीरमण भण्डारीले संशोधन प्रस्ताव दर्ता गर्ने गरी अगाडि बढाएपछि कर्मचारी फेरि आन्दोलित भएका हुन् ।
कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक प्रदेशसभामा पेश भइसकेको छ । विधेयकमाथि संशोधनका लागि मंगलवार दिउँसो साढे २ बजेसम्मका लागि समय दिइएको छ । लेखा समूहका कर्मचारीहरूले गत असारमा पनि भुक्तानी नै ठप्प पारेर आन्दोलन गरेका थिए । मुख्यमन्त्री हिक्मत कार्कीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए ।
गत असारमा भएको सहमतिअनुसार ल्याइएको संशोधन विधेयकमा सत्ता पक्षकै प्रमुख सचेतकले संशोधन प्रस्ताव गरेर लेखा समूहको माग सम्बोधन हुने दफा हटाउन खाेजेको लेखा समूहका कर्मचारी सुरज कोइरालाले बताए ।