२६ असार २०८३, शुक्रबार

हमासको आरोप– नेतन्याहूले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेका छन्

भदौ २०, २०८१
काठमाडौं
हमासको आरोप– नेतन्याहूले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेका छन्
बेन्जामिन नेतान्याहू ।

गाजापट्टी– हमासले बिहीवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा युद्धविराम सम्झौतालाई ‘विफल’ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

नेतन्याहूले प्यालेस्टिनी लडाकू समूहले वार्ताका सबै शर्त अस्वीकार गरेको बताएपछि हमासले उक्त आरोप लगाएको हो ।  

इजरायली अधिकारीहरूले आइतवार गाजाको एक सुरुङबाट ६ जनाको शव निकालेको विषय बाहिर ल्याएपछि बाँकी बन्धकलाई मुक्त गर्ने सम्झौतामा पुग्न प्रधानमन्त्री नेतन्याहूले विश्वव्यापी दबाबको सामना गरिरहेका बेला दुई पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।

‘हामी वार्ता शुरू गर्ने प्रयास गरिरहेका छौँ,’ नेतन्याहूले बुधवार भने, ‘हमासले भने वार्ता गर्न अस्वीकार गरिरहेको छ ।’ 

हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट–गाजा सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतन्याहूले बताएका छन् ।  

आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले बिहीवार सीमा क्षेत्रमा नेतन्याहूको जिद्दीले ‘युद्धविराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको’ आरोप लगाएको हो ।

केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेको युद्धविराम सम्झौतामा सहमति जनाएका प्यालेस्टिनी लडाकू समूहले नयाँ सम्झौता आवश्यक नभएको बताएका छन् । 

‘हामीलाई नयाँ प्रस्तावको आवश्यकता छैन,’ समूहले टेलिग्राममार्फत विज्ञप्तिमा भनेको छ, ‘हाम्रा जनताविरुद्धको आक्रमणलाई लम्ब्याउन वार्ताको प्रयोग गर्ने प्रधानमन्त्री नेतन्याहूको चालमा नफस्न आग्रह गर्दछौँ ।’

यस हप्ता इजरायलको विभिन्न शहरमा भएको विरोध प्रदर्शनमा युद्धविराम सम्झौता गर्न आवश्यक पहल नगरेको भन्दै नेतन्याहूका आलोचकहरूले उनलाई बन्धकहरूको मृत्युका लागि दोषी ठहर्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्