
खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्थानीय जनप्रतिधिले माग गरेका हुन् । यसका लागि मन्त्रालय सकारात्मक रहेको जनाइएको छ ।
अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच हालै छलफल भएको छ ।
जनप्रतिनिधिबीच भएको भेलाले बेलिब्रिज जडानका लागि तत्काल आवश्यक समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णय गरिएको छ । यसअघि खोटाङबाट पूर्वीसहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजका सामान बङ्सिलाघाटमा राख्ने तयारी सुरु गरिएको जनाइएको छ ।
दुई जिल्लाका जनप्रतिनिधिबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख करुणा राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्ष, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीय सहभागी भएका थिए ।