२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सहकारी ठगीमा मुछिए धनराज गुरुङ, जेल बस्नु परेन कांग्रेसका प्रदेश सांसद

भदौ २५, २०८१
काठमाडौं
सहकारी ठगीमा मुछिए धनराज गुरुङ, जेल बस्नु परेन कांग्रेसका प्रदेश सांसद

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । रास्वपा सांसदले उनीमाथि छानबिन गर्न समेत संसद्मा माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद गणेश पराजुलीले सहकारीको रकम अपचलनबारे सांसद गुरुङमाथि छानबिनको माग गरेका हुन् ।

‘सहकारीको बचत अपचलन छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसद्मा चर्को नाराबाजी गर्ने मध्येका एक माननीयज्यूविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको मिडियाहरूमा छ्यापछ्यापी देख्न पाइएको छ ।

उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदा पनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–केसम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ,’ पराजुलीले भने, ‘अब माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयज्यूहरूलाई सोध्न चाहन्छु ।’ 

धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक रहेको ललितपुरको मितेरी सहकारी संस्थाका अध्यक्ष कुम्मराज राईले ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएका छन् ।

यसैबीच सोमबार एक विज्ञप्ति जारी गर्दै गुरुङले भने विभिन्न सञ्चार माध्यममा आफूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले आफ्नी पूर्वपत्नी ज्योति गुरुङ ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत रहेको विज्ञप्तिमा स्वीकारेका छन् । तर, उनी उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनका बारेमा आफूलाई जानकारी हुने विषय नभएको गुरुङको जिकिर छ । गुरुङले ज्योतिसँग आफ्नो २०७६ साल फागुन २९ गते नै जिल्ला अदालत ललितपुरबाट सम्बन्धविच्छेद भइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्ने वारेमा जे जस्ता भ्रामक समाचारहरू सम्प्रेषित भएका छन् त्यसप्रति मेरो गम्भीर आपत्ति छ’, उनको भनाइ छ, ‘साथै निज ज्योतिजी सँग २०७६ साल फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकोले, ज्योति जीसँग उक्त मितिदेखि कुनै पनि किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँदछु ।’
००००
सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
००००
सरकारले कांग्रेस नेत्री चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

उन राजदूत सिफारिस भएसँगै अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएमा नियुक्त हुनेछिन् ।
००००
विशेष अदालतले मेलम्ची खानेपानी विकास समिति आयोजनामा भएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिवसहितका केही प्रतिवादीलाई कसुरदार ठहर गरेको छ ।

सोमबार विशेष अदालतमा अध्यक्ष टेकनारायण कुँवरसहित सदस्य तेज नारायण सिंह राईको इजलासले भ्रष्टाचार मुद्दामा फैसला गर्दै सजाय निर्धारणका लागि असोज ७ गतेका लागि अर्को पेसी तोकेको हो । 

१५ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा पूर्वसचिव भीम उपाध्यायसहितका केही प्रतिवादीले भने सफाइ पाएका छन् । 

यस्तै प्रतिवादी चन्द्रबहादुर थापाले पनि सफाइ पाएका छन् । उनी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्यमात्रै रहेको देखिएको भन्दै अदालतले उनले कुनै पनि बदनियत र लापरबाही समेत गरेको नदेखिएको भन्दै सफाइ पाउने ठहर गरेको हो । 

यस्तै विशेष अदालतले प्रतिवादी घनश्याम भट्टराईलाई पनि सफाइ दिएको छ । 

तर तत्कालीन सचिव गजेन्द्र ठाकुर र सूर्यराज कँडेल दोसी ठहर भएका छन् भने तत्कालीन खानेपानी विकास बोर्डका निर्देशक रामचन्द्र देवकोटा, परामर्शदाता कम्पनीका शिवकुमार शर्मालगायत पनि दोषी ठहर भएका छन् ।
००००
नेकपा एमालेको सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोक सिग्देललाई नियुक्त गरेका छन् । 

सेनाको परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिनाअघि नै गत साउन २४ मा बिदामा बसेका प्रधानसेनापति प्रभुराम शर्माको अवकाश सँगै रोलक्रममा रहेका सिग्देललाई नयाँ प्रधानसेनापति नियुक्त गरिएको हो ।
००००
अदालतमा  आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा पैसा तिरेर सांसद केसी सोमबार रिहा भएका हुन् ।

रुकुमपूर्व जिल्ला अदालतका नायब सुब्बा ओबीराम खड्काका अनुसार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधाअनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर उनी रिहा भएका हुन् ।

रुकुम पूर्व प्रदेशसभा २ बाट निर्वाचित नेपाली कांग्रेस सांसद केसी कागजात कीर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए । 
००००
साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ ।

सोमबार नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा शेयर कारोबार रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ ।

कार्यालय समयमा काम नै छाडेर कर्मचारीहरू शेयर कारोबारमा व्यस्त हुने गरेको भन्दै उजुरी परेपछि अख्तियारले कारोबार रोक्न भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्