उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् ।
उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेसन डाइलग (एसीडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरे ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले भने, 'नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।'
हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।
उनले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको बताए ।
दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उनले कतार सरकार र कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले लगानीको अपेक्षा गरेको बताए ।