
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहीवार पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो चेतावनी दिएका हुन् ।
संवैधानिक परिषद्मा बहुमत नपुग्ने भएपछि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखको विषय बाहिर ल्याएको उनको भनाइ थियो ।
‘कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारी गरिरहनुभएको बुझेका छौं । हामी यो विषयमा छलफलमै छौं,’ बुर्लाकोटीले भने, ‘संवैधानिक परिषद्मा बहमुत नपुग्ने भएपछि अहिले उपसभामुखको विषय बाहिर ल्याइयो । नियोजित रुपमा अहिले यो विषय ल्याइएकोले उहाँलाई हटाउन खोजे हामी प्रतिकार गर्नेछौं ।’
आफूसँगै ५ जना नेपालीलाई अमेरिका लान भिसाका लागि अन्तर्वार्ता अगाडि सारिदिन उपसभामुखले रानाले अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । आफ्नो सचिवालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने भए पनि उनले पदीय मर्यादाविपरीत काम गरेको भन्दै सत्तारुढ दलले राजीनामा दिन दबाब बढाएका छन् । राजीनामा नदिए उनलाई हटाउने तयारी सत्तारुढ दलहरूको छ । यसका लागि दुई–तिहाइ पुर्याउन हस्ताक्षर संकलनको तयारीमा उनीहरू जुटेका छन् ।
रास्वपाको बुधवार बसेको सचिवालय बैठकले पदीय मर्यादाविपरीत उपसभामुखले पत्र पठाएको स्वीकारेको थियो । तर बिहीवार भने हटाउन खोजे प्रतिकार गर्ने चेतावनी दिएको हो ।