२२ असार २०८३, सोमबार

महाकाली नदीको जलसतह उच्च

भदौ २८, २०८१
कञ्चनपुर
महाकाली नदीको जलसतह उच्च

कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ ।

उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

'भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन्,' प्रहरी निरीक्षक थापाले भने, 'दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।'

उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको  अवस्था छ ।

यसका कारण बस्ती डुबानमा परेका छन् भने एक/दुई परिवार विस्थापित भएका छन् ।​​​ त्यसैगरी लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ ।

पानीको बहाव बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव तीन लाख ५१ हजार क्युसेक पुगेको छ ।

शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने बित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ । वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्