
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले ‘माओवादी हिंसा’ भनेर जनयुद्धलाई अपमान गर्ने काम भएको ठहर गरेको हो ।
बैठकपछि संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट हिंसा शब्द नहटेसम्म बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए ।
भदौ २६ गते बसेको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नरहेकोले रेकर्डबाट हटाउनु नपर्ने घोषणा गरेका थिए ।
‘शान्ति सम्झौतादेखि सबै कुरालाई अपमान गर्ने गरेर संघीयता, गणतन्त्रसहितको संविधान सबैलाई अपमानित गर्ने काम एमाले सचिव योगेश भट्टराईले हिंसा भन्ने अभिव्यक्ति दिनुभयो । हामीले संसद्मा प्रतिवाद गरेका छौं,’ पाण्डेले भने, ‘संसद्को रेकर्डबाट नहटेसम्म अवरोध कायम राख्छौ ।’
संसद्को रेकर्डबाट हिंसा शब्द हटाउन माग गर्दै माओवादीले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।
भदौ १२ गते बसेको बैठकमा सांसद भट्टराईले माओवादीको दश वर्षे सशस्त्र संघर्ष हिंसा भएको आरोप लगाएका थिए ।
पछि एक कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनयुद्धलाई हिंसाको संज्ञा दिएका थिए ।