![जीबी राई सहकारीबाट पैसा ल्याउने भरिया, रविको भूमिका खर्च गर्नेमा देखियो– समिति सदस्य दाहाल [भिडियो]](https://lktcdn2.prixacdn.net/media/lekhnath_dahal_KP9ZJOX0uZ.png)
संसदीय विशेष छानबिन समितिका सदस्य लेखनाथ दाहालले सहकारीको रकम अपचलनमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै कारवाही सिफारिस गरेको बताएका छन् ।
सोमबार संसद्लाई प्रतिवेदन बुझाउनुअघि संचारकर्मीसँग कुरा गर्दै दाहालले विभिन्न सहकारीबाट गोरखा मिडियामा जितेन्द्रबाबु राई (जिबी राई)ले भरियाको रूपमा पैसा ल्याएको र त्यो रकम खर्च गर्ने कार्यमा हाल रास्वपा सभापति समेत रहेका रविको संलग्नता देखिएको बताएका हुन् । मिडियामा आएको रकम खर्च गर्नमा संलग्नता देखिएपछि समितिले कारबाही सिफारिस गरेको उनले बताए ।
‘गोर्खा मिडियामा जीबी राईले भरियाको रूपमा रकम ल्याएका छन् । मिडियामा रकम पुगिसकेपछि गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमार्फत् खर्च भएको देखिन्छ,' उनले भने, '१४ महिनाको आर्थिक गतिविधिको जिम्मा रविले लिनुपर्छ । किनकी खातामा उहाँको सही देखिएको छ । तीन जनाको संयुक्त खाता छ । खर्च गरिएको पैसामा रविले एउटाबाहेक सबै चेकमा हस्ताक्षर गर्नुभएको छ ।'
लामिछानेले गैरकानुनी प्रक्रियाबाट कम्पनीको सेयर लिएको पनि देखिएको उनले बताए । ‘स्वीकृत सेयर उहाँले लिनुभएको छ । सेयर लिँदाको प्रावधान, कम्पनी कार्यालयको भौचरजस्ता गैरकानुनी प्रक्रियामा उहाँको संलग्नता देखियो । यसैले कानुनसम्मत कारवाहीको लागि नेपाल सरकारलाई सिफारिस गरेका छौं,’ उनले भने ।
लामिछानेले भने यसअघि आर्थिक अपचलनमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका थिए ।
समितिले साढे तीन महिना एक हप्ता काम गरेपछि आज संसद्मा प्रतिवेदन बुझाउन लागेको हो । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मीसहित सहकारीबाट गोर्खा मिडियामा झण्डै एक अर्ब ल्याएर सहकारीको पैसा अपचलन भएको निष्कर्ष छानबिन समितिले निकालेको हो । समितिले जीबी र रविसहित ९ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ ।
भिडियो