११ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

सहकारीको रकम दुरुपयोगमा रविको संलग्नता, कारबाही गर्न संसदीय समितिको सिफारिश [प्रतिवेदनसहित]

भदौ ३१, २०८१
काठमाडौं
सहकारीको रकम दुरुपयोगमा रविको संलग्नता, कारबाही गर्न संसदीय समितिको सिफारिश [प्रतिवेदनसहित]

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर कारबाहीको सिफारिश गरेको छ ।

लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ ।

२१ वटा चेकमध्ये एउटामा अध्यक्ष गितेन्द्र बाबु राई (जीबी राई)बाहेक अन्य सबैमा लामिछानेकै हस्ताक्षर रहेको प्रमाण समेत समितिले भेट्टाएको छ ।

८३ अर्ब अवैध कारोबारमध्ये ८५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य समितिले फेला पारेको छ ।

गोर्खा मिडियाले १० करोड मात्रै आम्दानी गरेपनि बाँकी रकम सहकारीबाटै आएको समितिको प्रतिवेदनमा उल्लेख छ । 

सहकारीमा गलत मनसायले ल्याएको रकम हिनामिना गर्ने र गर्न लगाउने दुवै दोषी रहेकाले समितिले गोर्खा मिडियाका तत्कालीन अध्यक्ष राई, मदनकुमार रम्तेल, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कानूनी कारबाहीका लागि सिफारिश गरेको छ । 

‘शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष (जीबी) राई र (मदनकुमार) रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक (रवि) लामिछाने र सञ्चालक (छविलाल) जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने ।’ 

समितिको प्रतिवेदनमाथि बोल्दै लामिछानेले आफू दोषी नरहेको पुष्टि भएको प्रस्टीकरण दिएका छन् ।

उनले भने, ‘अब यसलाई अनेक तर्क/कुतर्क दिएर गोर्खा मिडियालाई कारबाही गर भन्यो नि भनेर आफूले उठाएका विषयलाई लिपपोत गर्ने कोशिश रहन्छ होला, त्यसमा म प्रतिवाद गर्न चाहन्नँ । नैतिकताको कसीमा को कहाँ उभिने कुरा छँदैछ ।’ 

यी चार तथ्य जसले रवि कारबाहीका भागीदार हुन्छन्:

– ग्लोबल आईएमई र तत्कालीन सिभिल बैंकमा केवाईसी फर्म भरेर गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरेका थिए ।

– गोर्खा मिडियाको खातामा रवि लामिछानेले हस्ताक्षर गरेका चेक पनि साटिएका छन् । कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको हो ।

– कम्पनीको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको हैसियतमा जीबी राई र प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेको हस्ताक्षर छ ।​

हेर्नुहोस्, प्रतिवेदनको निष्कर्ष तथा सुझाव :

salt training

कमेन्ट गर्नुहोस्