
बैंकहरूले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर लागू गरेका हुन् ।
भदौको तुलनामा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोजमा बैंकहरूको ब्याजदर औसतमा ०.१४ प्रतिशतले घटेको छ ।
नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौ महिनामा औसत ६.५२ प्रतिशत थियो ।
असोजमा १० वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने, ८ वटा वाणिज्य भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, दुई बैंकले मात्रै ब्याजदर बढाएका छन् ।
नेपाल बैंक र कृषि विकास बैंकले मात्रै भदौ महिनाको तुलनामा असोजका लागि ब्याजदर बढाएका छन् ।
त्यस्तै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् ।
ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्टयान्डर्ड चार्टर्ड बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
