
बामाको– मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा कम्तीमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतका घटनाहरूमध्ये एक हो ।
मृतकको सङ्ख्या अझ बढी रहेको हुनसक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मालीको सैनिक नेतृत्वले भने अहिलेसम्म आक्रमणमा मारिनेको स्पष्ट सङ्ख्या सार्वजनिक गरेको छैन । यो आक्रमणको दाबी अल–कायदा सम्बद्ध समूह ग्रुप टू सपोर्ट इस्लाम एन्ड मुस्लिम्स (जेएनआईएम)ले गरेको छ ।
विशेषज्ञहरूका अनुसार यो आक्रमण वर्षौंमा आफ्नो प्रकारको पहिलो थियो र यसले सत्तारूढ जुन्टालाई निकै ठूलो धक्का पुर्याएको छ ।
मालीको केही भागमा करिब दैनिक रूपमा हुने यस्ता किसिमको आक्रमणबाट राजधानी बामाको सामान्यतया जोगिने गरेको छ ।
जनरल स्टाफले मङ्गलवार राति विशेषगरी सैन्य प्रहरी केन्द्रका कर्मचारीहरूको जीवन क्षति भएको स्वीकार गरेको छ ।
जेएनआईएमले रुसी अर्धसैनिक समूह वाग्नरका सदस्यसमेत संलग्न रहेका उसका केही दर्जन लडाकूहरूले विरोधी पङ्क्तिका ‘सयौँ’ मानिसलाई मारेको र घाइते बनाएको दाबी गरेको छ ।
यो हमला जुन्टा नेतृत्वको माली, नाइजर र बुर्किना फासोले आफ्नो पृथक समूह अलायन्स अफ साहेल स्टेट्स (एईएस)को स्थापना गरेको एक वर्ष पूरा भएको दिनपछि भएको हो ।
सन् २०२० देखि लगातार सैन्य विद्रोहपछि तीनवटै मुलुक सैन्य शासनको अधीनमा छन् र जनवरीमा उनीहरूले क्षेत्रीय ब्लक ईसीओडब्लूएएससँगको सम्बन्ध तोड्ने घोषणा गरे ।
मालीलाई सन् २०१२ देखि अल–कायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न गुटहरूले ध्वस्त बनाएका छन् ।