
महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ ।
जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए ।
प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी सङ्ख्या न्यून थियो । अहिले भने विद्यालय यस क्षेत्रकै नमूनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा एक हजार एक सय ६९ विद्यार्थी अध्ययनरत छन् भने थप विद्यार्थी भर्ना रोक लगाइएको छ ।
कक्षाकोठा तथा अन्य भौतिक संरचना र शिक्षकको अभावबीच अङ्ग्रेजी माध्यममा पढाइ शुरू गरिएपछि गाउँटोलमा रहेका निजी विद्यालयमा पठनपाठन गरिरहेका बालबालिका जनता मावि आउन थालेका हुन् ।
निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताए । उनका अनुसार कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको छ ।
विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ शुरू गर्दा निकै कठिनाइ भए पनि अहिले विद्यार्थी तथा शिक्षक सबैका लागि नयाँ दैनिक शैक्षिक कार्यतालिका लागू गरिएकाले विद्यार्थी तथा शिक्षक अनुशासित भएर आ–आफ्ना जिम्मेवारी पूरा गर्न निर्देश गरिएको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए।
विद्यालयमा १७ जना शिक्षकको मात्रै दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप नौ जना शिक्षक बहाली गरी जम्मा २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको महतोले बताए ।
विद्यार्थीको बढ्दो चापकै कारण अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए । आफ्नो गाउँबस्तीमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदा विद्यार्थी पनि खुसी छन् ।
विद्यालयको आयस्रोत केही नरहेकाले अङ्ग्रेजी माध्यमको पठनपाठन, भौतिक संरचना अभाव र नियमित गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकलाई तलब सुविधाबापत दिनुपर्ने दायित्व बढेको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गरे। रासस