०५ असार २०८३, शुक्रबार

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

असोज ५, २०८१
काठमाडौं
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ ।

विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।

यस वर्ष सोह्र श्राद्ध शुरू भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको  मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । 'सोह्र श्राद्ध शुरू भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्,' उनले भने, 'पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।'

मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको बताउँदै उनले यहाँ आएर कागबेनी श्राद्ध गरी मुक्तिनाथ भगवानको दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताए ।

मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घर-घरमा तीर्थ जलका रूपमा लैजाने प्रचलन छ ।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्त्वपूर्ण छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान विष्णुले तपस्या गरेको पुण्य भूमिका रूपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ ।

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ ।

पछिल्ला समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको होटल व्यवसायी जयेश गुरुङले बताए । उनका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठूला गरी ३२ होटलले सेवा दिइरहेका छन् । 

सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्