
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मिस्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै हैन, समावेशी समाज पनि आवश्यक छ, यसका लागि पारदर्शी, जवाफदेही र उत्तरदायी व्यवस्था तथा निर्वाचन प्रणाली लागू गर्नुपर्छ भने ।
“नेपाल समावेशी राजनीतिमा आइसकेको छ, यसबाट पछि हट्दैन, हामीले शासन प्रणाली र निर्वाचन प्रणालीलाई अझ बढी पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता छ, नेपाल विभिन्न जातजातिको देश हो, शासनसत्तामा सबैको प्रतिनिधित्व मात्रै हैन, अधिकार प्राप्त भएको महसुस गराउन सक्नुपर्ने आवश्यकता छ, यसका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्छ”, उनले भने ।
सभापति देउवाले जनताको विश्वास आर्जन गर्नका लागि उत्तरदायी पार्टी बनाउनु छ, यसका लागि सबै मिलेर लाग्नुपर्ने बताए ।