२३ असार २०८३, मंगलबार

प्रचण्ड र रवीन्द्रबीचको कुराकानीप्रति बाबुरामको टिप्पणी- अहिले बिरालो म्याँउ गरेकै हो !

असोज ९, २०८१
काठमाडौं
प्रचण्ड र रवीन्द्रबीचको कुराकानीप्रति बाबुरामको टिप्पणी- अहिले बिरालो म्याँउ गरेकै हो !

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिस्रबीचको भेटलाई लिएर कटाक्ष गरेका छन् । 

प्रचण्डले राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई उद्धृत गर्दै भट्टराईले 'बिरालो म्याउ गरेको' भन्दै टिप्पणी गरेका छन् । 

'प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्य तथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ अहिले बिरालो म्यॉउ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो,' मिश्रको फेसबुक पोस्ट सेयर गर्दै बाबुरामले लेखेका छन्, 'गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !'

मिश्रले मंगलबार बिहान खुमलटारमै पुगेर प्रचण्डलाई भेटेका थिए । भेटमा आफूले 'देश विस्फोटको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने' प्रचण्डलाई सुनाएको मिश्रले बताएका थिए । आफ्नो कुरा सुनेपछि प्रचण्डले लामो व्याख्या गरेको उनले उल्लेख गरेका छन् । जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको उनले दाबी गरेका छन् ।

'यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म(प्रचण्ड) पनि पुगिसकेँ। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका छन्, 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो ।'

salt training

कमेन्ट गर्नुहोस्