
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका फरार अभियुक्त नागेन्द्र पासवान उर्फ ज्वाला सिंहको जग्गा रजिस्ट्रेसन पास गरिदिनका लागि सिंगो मालपोत कार्यालय नै भारत पुगेको पाइएको छ । कुनै व्यक्ति विशेषको जग्गा रजिस्ट्रेसन गरिदिनका लागि सिंगो मालपोत कार्यालय नै उठेर अर्को मुलुकसम्म पुग्नु आफैंमा गम्भीर विषय हो । अझ पासवान फरार अभियुक्त हुन् ।
कार्यालयको अभिलेखसहित मालपोतका कर्मचारीहरू भारत पुगेर पासवानको जग्गा रजिस्ट्रेसन पास गरिदिएका हुन् । सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले गृह मन्त्रालयका सचिवलाई लेखेको पत्रमा यो विषय उल्लेख छ ।
तत्कालीन सीडीओ लालबाबु कवारीले २०७८ फागुन १६ गते गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई लेखेको पत्रमा सो विषय उल्लेख गरेको देख्न सकिन्छ ।
सीडीओ कवारीले भूमिगत समूहका नाइके नागेन्द्र पासवानको जग्गा रजिस्ट्रेसन गरिदिनका लागि केही दलाल र मालपोतका कर्मचारीले कार्यालयको अभिलेख नै भारत लगेकाले आवश्यक कारबाही गर्न माग गरेका थिए ।
'माओवादी द्वन्द्वकालमा कपाली तमसुक बनाई अदालतबाट लिलाम गराउने अथवा अन्य प्रक्रियाद्वारा जग्गा कब्जा गरी पार्टीकै नाममा राखिने गरेको श्रीमानलाई अवगत नै छ,'पत्रमा भनिएको छ, 'नागेन्द्र पासवान भन्ने व्यक्ति सिरहाको मिर्चैयाका हुन् । उनी माओवादी पार्टीमै रहेका बेला ती जग्गा निजको नाममा राखिएको र पछि पार्टीमा विवाद भएपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा(गोइत समूह)मा प्रवेश गरी ज्वाला सिंहको नाममा विभिन्न आतंकवादी गतिविधि गर्ने गरेका थिए । हाल भूमिगत अवस्थामा रही उनी भारत बिहारस्थित मुजफ्फरपुरमा व्यवसाय गरी बसेको बुझिएको छ ।'
'२०७६ जेठ १४ गतेका दिन केही दलाल तथा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोबाट भारतमै कार्यालयको सबै अभिलेख लगी कर्मचारीहरू समेत गई सहीछाप गराएर ल्याई (०-३-८) ३ कठ्ठा ८ धुर जग्गा पास गरी बिक्री गरेको देखिन्छ । बाँकी जग्गाहरू समेत सोही प्रक्रियाबाट बेच्ने सुइँको पाएपछि मालपोत प्रमुखलाई त्यसबारे सचेत गराएको छु । अब माथि उल्लेखित जग्गा भारतमा गई सहीछाप गरी ल्याएको विषयमा कानूनबमोजिम अनुसन्धान तहकिकात गरी संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । साथै, बाँकी जग्गाहरू पनि हाललाई रोक्का राख्न लगाई उपयुक्त कानूनी निकास दिई उजुरीकर्तालाई न्याय दिनुपर्ने देखिएकले यस सम्बन्धमा आवश्यक निर्देशनका लागि सादर अनुरोध गर्दछु,' सीडीओ कवारीले गृह सचिवलाई लेखेको पत्रमा भनिएको छ ।
हेर्नुहोस् , तत्कालीन सीडीओ कवारीले गृह सचिवलाई लेखेको पत्र:

तर, पाण्डेले त्यसअनुसार कुनै कारबाही अगाडि बढाएनन् । उल्टै कवारीलाई कारबाही गरी मन्त्रालयमा तानेका थिए । तत्कालीन गृहसचिव पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा पुर्पक्षका क्रममा कारागारमा छन् ।
१ बिघा बढी जग्गा जबरजस्ती कपाली तमसुक बनाएर हडपेको पीडितको गुनासो
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ का रोहितकुमार साहले २०७८ फागुन १४ गते जग्गा रोक्का राखी आवश्यक कारबाही गरिपाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गराएका थिए ।
'२०५३ फागुन ३० गतेका दिन द्वन्द्वकालको समयमा आपसमा विवाद हुँदा मेरो बुवा बिन्देश्वर साहसँग जबर्जस्ती कपाली तमसुक बनाएर सोही तमसुकको आधारमा सिरहा जिल्ला अदालतबाट फैसला गराई नागेन्द्र पासवानले आफ्नो नाममा जग्गा दर्ता गराएका थिए,' साहले स्थानीय प्रशासनमा गरेको उजुरीमा उल्लेख छ ।
जग्गा दर्ता भएको केही दिनपछि नागेन्द्र पासवान भूमिगत भएको उनले उजुरीमा खुलाएका छन् ।
नागेन्द्र पासवान नभएको बेलामा सिरहाको साविक रामनगर गाविस वडा नम्बर ६ (क) को कित्ता नम्बर १४७६ को ३ कठ्ठा ८ धुर जग्गा रसिद नम्बर १६८६ को आधारमा २०७६ जेठ १४ गते सिरहा नगरपालिका वडा नम्बर ६ बस्ने राजेश्वरप्रसाद साहको नाममा पास गरिदिएको उजुरीमा उल्लेख छ । उक्त जग्गा कसरी र कुन अवस्थामा पास भएको हो भन्ने एकिन गरी सम्बन्धित व्यक्तिउपर कारबाहीको माग समेत उजुरीमा गरिएको छ ।
रामनगर वडा नम्बर ६ (क) को कित्ता नम्बर १२५२ को ४ कठ्ठा ३ धुर, कित्ता नम्बर १२५४ को ४ कठ्ठा ८ धुर, कित्ता नम्बर १२५६ को २ कठ्ठा १९ धुर, कित्ता नम्बर १२५८ को ८ कठ्ठा साढे १४ धुर र कित्ता नम्बर १४७६ को ३ कठ्ठा ८ धुरसहित कुल ५ कित्ताको १ विघा ५ कठ्ठा साढे १२ धुर जग्गा रोक्का राखिदिन उनले उजुरीमा माग गरेका थिए ।
हेर्नुहोस्, साहले गरेको उजुरी :


सोही उजुरीमाथिको छानबिनका क्रममा मालपोतको अभिलेख नै भारत पुर्याएर रजिस्ट्रेसन गरिदिएको खुलेको हो । नागेन्द्र पासवानबाट जग्गा खरिद गरेका राजेश्वरप्रसाद साहलाई सीडीओ कार्यालयमा बोलाई बयान समेत गरिएको थियो ।
२०७८ फागुन २९ गते साहले सीडीओ कवारी समक्ष गरेको बयानमा आफूले २ लाख रुपैयाँमा उक्त जग्गा नागेन्द्र पासवानसँग किनेको साहले जिकिर गरेका छन् ।
'३ वर्ष पहिले मैले सिरहाका नागेन्द्र पासवानमार्फत मालपोत कार्यालय सिरहामार्फत रजिस्ट्रेसन पास गरी २ लाख रुपैयाँमा लिएको हुँ । उक्त जग्गा हाल मेरो छोरा जितेन्द्रकुमार साहलाई बकसपत्रमार्फत दिएको छु,' साहको बयानमा उल्लेख छ ।
जग्गा पास गर्दा मालपोत कार्यालयमा नगएको र पासवानको घरमा नै मालपोत कार्यालयका कर्मचारीहरू पुगेर पास गरिदिएको उनले खुलाएका छन् ।
'मालपोत कार्यालयका प्रमुख र कर्मचारीहरू कार्यालयको ढड्डासहित निज पासवानको घरमा आएर रजिस्ट्रेसन पास गरिदिएका हुन्,' साहले गरेको बयान कागजमा उल्लेख छ ।
'साविक जग्गाधानी नागेन्द्र पासवान भारतमा व्यवसाय गरी बसिरहेको अवस्थामा मालपोत कार्यालयका प्रमुख, अन्य कर्मचारीहरू, तपाईं समेत मिलेर भारत गई जग्गाधनी नागेन्द्र पासवानलाई भेटी रजिस्ट्रेसन पास गरेको खुल्न आएको देखिन्छ नि !' भनेर सीडीओ कवारीले साहलाई प्रश्न गरेका छन् ।
जवाफमा साहले पासवानको नेपालस्थित घरमा नै रजिस्ट्रेसन गरिएको बताएका छन् ।
'निज भूमिगत भएको सम्बन्धमा मलाई थाहा थियो । तर, जग्गा रजिस्ट्रेसन पास भएको मितिमा निज के कसरी नेपाल आए, मलाई थाहा भएन । उक्त जग्गा निजको सिरहास्थित घरमा नै रजिस्ट्रेसन पास गरिएको हो ।'
भूमिगत मानिससँग कसरी सम्पर्क भयो भन्ने प्रश्नमा साहले भनेका छन्- 'निजसँग मेरो पहिलेदेखि नै चिनजान थियो । निज सिरहा आएको समयमा जग्गा बिक्री गर्नुछ भनी मलाई जानकारी गराएकाले मैले उक्त जग्गा लिएको हुँ ।'
हेर्नुहोस्, साहले गरेको बयान कागज :


बयानपछि साहलाई २०७८ चैत १० गतेको तारेख दिइएको थियो । तर, सीडीओ नै गृह मन्त्रालयमा तानिएपछि यसमा थप कारबाही अगाडि बढेन ।

साहले नेपालमै रजिस्ट्रेसन पास गरिएको बताए पनि स्थानीय प्रशासनको अनुसन्धानमा भने उक्त रजिस्ट्रेसन भारतमै पुगेर गरिएको खुलेको छ ।
मधेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा दर्जनौं मुद्दा रहेका र फरार व्यक्तिको नाममा रहेको जग्गा पारित हुनु नै गम्भीर विषय हो । साहले भने अनुसार भारत नगई यदि पासवानको घरमै सबै अभिलेख लगेर, मालपोत प्रमुखसहित फाँटवाला कर्मचारी समेत पुगेर रजिस्ट्रेसन गरिएको हो भने पनि त्यो गैरकानूनी नै हो ।
यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गरेर तत्कालीन मालपोत प्रमुखसहित सम्बन्धित कर्मचारीउपर कारबाही अगाडि बढाउनुपर्ने जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारी बताउँछन् ।
हेर्नुहोस्, पासवानको तस्वीरसहितको पुर्जा र जागा बिक्रीको कागजात :




को हुन् ज्वाला सिंह ?
तराई मधेशमा भूमिगत समूहको नाममा कैयौं हत्या, हिंसा, कब्जा, अपहरण, फिरौती, बम विस्फोटजस्ता कसूरमा नेपाल प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेको व्यक्ति हुन्, नागेन्द्र पासवान उर्फ ज्वाला सिंह ।
शुरूमा नेकपा माओवादीमा आबद्ध भएपनि ०६० को दशकमा जयकृष्ण गोइतसँगै अलग्गिएर जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत संगठन चलाएका थिए ।
गोइत नेतृत्वको उक्त समूहले मधेशमा कैयौं आपराधिक घटना घटाएको थियो । व्यक्ति हत्या, हिंसा, अपहरण, फिरौती, जग्गा कब्जाजस्ता गतिविधि बढेका थिए ।
पछि उनले गोइतसँग पनि छुट्टिएर आफ्नै समूह खडा गरे । गोइत र ज्वाला सिंह भनेर जनतान्त्रिक तराई मुक्ति मोर्चाले नै अलग–अलग गतिविधि गर्न थाल्यो ।
उनीहरूकै देखासिकी गरेर मधेशमा दर्जनौं भूमिगत समूह खडा भएका थिए । तर, गोइत र ज्वाला दुवै अहिलेसम्म फरार छन् । मधेशका जिल्लैपिच्छे किटानी जाहेरी रहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।