३१ असार २०८३, बुधबार

सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग

असोज ९, २०८१
भक्तपुर
सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग

सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ । 
    
आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते अभियन्ता भन्ने तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाले  बताए । 

“युट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको छ, सात जनाको टोलीले नगरपालिकाको सम्पत्ति माथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोगगरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोडगरी भत्काएको छ”, नगरपालिकाका प्रवक्ता सापकोटाले भने, “त्यो ताण्डव सार्वजनिक सम्पत्ति माथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउगरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ ।” 
    
पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल  पर्यटन प्रवद्र्धनकै लागि बनाइएकाले शुल्क लिएको बताए । 
    
उनले भने, “हामी नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माणगरी सञ्चालनमा ल्याएका हौँ ।” 
    
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गरे । 

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु ३४ लाखमा र आव ०८०/०८१ लागि रु ३९ लाखमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिए । ठेक्काबाट सङ्कलित रकममा नगरपालिकाले रकम थप गरेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्