
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
त्यस्तै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।
उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म लाई तोकिएको छ ।
३ बजे सम्म परेको उजुरीमाथि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरेर निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ ।
उक्त दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
मतदान शुरू हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजे पछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।