
‘मह जोडी’का नामले परिचित वरिष्ठ हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दशकपछि पुनः एकपटक ‘मह जात्रा’ प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने भएका छन् ।
मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ उनीहरू १० वर्षपछि पुनः ‘मह जात्रा’मार्फत स्टेज शोमा देखिन लागेका हुन् ।
प्रहसनमा हाँस्य व्यंग्य कलाकारहरू किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रस्तुति रहने छ ।

यस प्रहसनको मुख्य विशेषता हाँस्यव्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितिलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुने आयोजकको दाबी छ ।
१० वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हाँस्यव्यंग्यलाई फेरि जीवन्त बनाउने अपेक्षा राखिएको छ । नेपाली दर्शकहरूलाई हसाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिइएको छ । ‘यस प्रहसनमा हाँस्य र सन्देशको मिश्रण हुनेछ, जसले दर्शकलाई हसाउने मात्र होइन, समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्नेछ,’ पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘मह जात्रा’ मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने छ ।
‘मह जोडी’ पाँच दशकभन्दा बढी समयदेखि हाँस्यव्यंग्य क्षेत्रमा क्रियाशील छन् ।