
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुमारबहादुर बराइलीलगायत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
१५ लाख ५ हजार ९३० बिगो कायम गरी दायर गरिएको मुद्दामा विशेष अदालतले २०८० माघ १६ गते प्रतिवादीहरूलाई सफाइ दिएको थियो।
प्रतिवादीहरू दिलबहादुर मगर र रश्मिला बराइली, रामबहादुर मगर र चन्द्रकला श्रेष्ठविरुद्धको मुद्दामा विशेषको फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
यसैगरी आयोगले प्रतिवादीहरू तपेन्द्रबहादुर शाह र महेश बुढा थापाविरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।
२ लाख ११ हजार ३१६ रुपैयाँ बिगो कायम गरी दायर गरिएको मुद्दामा विशेष अदालतले २०८० साल फागुन ६ गते सफाइ दिएको थियो ।
साबिक कृषि ज्ञान केन्द्र जुम्लाद्वारा गराइएको कृषि सिँचाईसम्बन्धी कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
ती प्रतिवादीहरूलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको आयोगले जनाएको छ ।
यसैगरी आयोगले महोत्तरीको पिपरा गाउँपालिकाकी तत्कालीन प्रशासकीय अधिकृत रन्जिता झासहितको मुद्दामा पनि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ ।