
झ्याप्ले खोलामा पहिरोले सवारी आवागमन अवरुद्ध भएपछि नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारीसाधनलाई प्रवेश दिइएको छ ।
शनिबार र आइतबार एम्बुलेन्स, मालवाहक सवारीसाधन, दूध बोक्ने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिइएको हो ।
सडक विभागका सूचना अधिकारी इन्जिनियर अमितकुमार शर्माका अनुसार धुनीवेशी नगरपालिका र स्थानीय प्रशासनको आग्रहमा तत्कालका लागि विपद्मा सवारी साधन नफसोस् भन्ने हेतुले सुरुङमार्ग प्रयोग गर्न दिइएको हो ।
‘सुरुङमार्ग औपचारिक रुपमा खुला गरिएको होइन, विपद्का बेला स्थानीय प्रशासनको आग्रहमा अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रयोग गर्न दिइएको हो,’ शर्माले लोकान्तरसँग भने, ‘सुरुङ मार्गमा आयोजनाको निगरानी भइरहेको छ ।’
उनले अत्यावश्यक रूपमा काठमाडौं नगइ नहुनेलाई मात्रै प्रवेश गर्न दिइएको बताए ।