
मनसुन सकिनै लाग्दा एक्कासि परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भए । केही दिन काठमाडौं आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नुपर्यो । सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको छ ।
दशैंको मुखमा आ–आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन् । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ ।
सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको यात्रु गुनासो गर्छन् ।
बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड देख्न सकिन्छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।
असोज १५ गते दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् । उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ । समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् ।
फ्लाइट राडरका अनुसार मङ्गलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटकपटक उडान समय परिवर्तन गर्नुपरेको छ ।
सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दशैंको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । उनले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए ।