११ साउन २०८३, सोमबार

बङ्गलादेशका क्रिकेटर शकिबको स्वीकारोक्ति– प्रदर्शनका क्रममा मौन बस्नु गल्ती भयो

असोज २४, २०८१
काठमाडौं
बङ्गलादेशका क्रिकेटर शकिबको स्वीकारोक्ति– प्रदर्शनका क्रममा मौन बस्नु गल्ती भयो

नयाँ दिल्ली–बङ्गलादेशका क्रिकेट खेलाडी शकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन् । 

अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् । 

बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाकिब सन् २०२४ को शुरूमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए । अगस्टमा हसिनाको राजीनामापछि संसद् विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उनले बङ्गलादेशको सांसदको रूपमा सेवा गरेका थिए । 

शकिबले बुधवार आफ्नो आधिकारिक फेसबूक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका छन् । 

नोटमा भनिएको छ, ‘आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु । यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ ।’

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको झडपमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

आन्दोलनका समय शकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका थिए र त्यसपछि उनी बङ्गलादेश फर्किएका छैनन् । 

हसिनाको बहिर्गमनपछि देशमा गठित अन्तरिम सरकारको स्वीकृतिमा उनले बङ्गलादेशी टोलीसहित पाकिस्तान र भारतको भ्रमण गरेका छन् । 

हसिनाका विरोधीहरूले बहिष्कार गरेको जनवरीमा सम्पन्न निर्वाचनबाट शकिब सांसदमा निर्वाचित भएका थिए ।

उनले आफ्नो गृहनगरको विकासमा योगदान गर्न चाहेकाले आफूले चुनाव लड्ने निर्णय गरेको बताएका छन् । 

‘यदि आफ्नो तोकिएको स्थान छैन भने बङ्गलादेशमा विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्न कठिन छ,’ उनले भनेका छन् । 

शकिबले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट श्रृङ्खला खेल्न चाहेको बताएका छन् । 

‘आफ्ना सबै प्रशंसकहरूसँग बिदाइ हुने अवसर मेरो इच्छा हो,’ उनले आफ्नो फेसबूक पोस्टमा भनेका छन्, ‘तपाईंहरू सबैलाई थाहा छ, म चाँडै नै आफ्नो अन्तिम खेल खेल्नेछु । म आशा गर्दछु कि मेरो बिदाइको घडीमा तपाईंहरू सबै मेरो साथमा हुनुहुनेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्