
शुक्रबार परेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना दिवस (एनआरएनए डे) दुई समूहमा मनाइने भएको छ ।
बद्री केसी नेतृत्वको एनआरएनए र आरके शर्मा नेतृत्वको एनआरएनएले छुट्टाछुट्टै कार्यक्रम गरेर एनआरएनए डे बनाउन लागेको हो ।
एनआरएनए डेको अवसरमा केसी पक्षले शुक्रवार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा गर्ने कार्यक्रमको आयोजना गरेको छ ।
केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोबर पुरै महिना विभिन्न संस्थागत तथा परोपकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरूलाई आग्रह गरेको छ ।
यसैगरी शर्मा पक्षले भर्चुअल माध्यममार्फत एनआरएनए डे मनाउन लागेको छ । शुक्रबार अपराह्न तय भएको कार्यक्रममा नेपाल सरकारका मन्त्री, एनआरएनएका पूर्वअध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित एनआरएनए अभियन्ताहरूको सहभागिता रहने शर्मा पक्षको भनाइ छ ।
दसौँ महाधिवेशनबाट बढ्दै गएको विवाद ११ औँ महाधिवेशनमा आइपुग्दा उग्र बनेको छ । विवादकै कारण ११ औँ महाधिवेशनमा उम्मेदवार बनेका आरके शर्मा र महेश श्रेष्ठले नतिजा नै स्वीकार गरेनन् । बद्री केसीले धाँधली गरेर चुनाव जितेको जिकिर गर्दै श्रेष्ठसमेतको समर्थनमा शर्मालाई अध्यक्ष चयन गरिएको थियो । त्यसयता केसी र शर्माले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।
उसो त सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशनको वैधानिकताको विषयमा गत चैतमा फैसलासमेत गरेको थियो । जसअनुसार सर्वोच्चले २०७८ माघ १ को अवस्थामा फर्किएर पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न फैसला समेत गरेको थियो । जसअनुसार १० औँ र ११ औँ महाधिवेशनको वैधानिकता नरहेको अवस्थामै केसी पक्ष फेरि अदालत गएर अहिले बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको छ । बद्री केसी बालुवाटारमा फर्किएपछि आरके शर्मा पक्ष अर्को मुद्दा लिएर अदालत पुगेको छ । आफू आधिकारिक रहेको दाबी गरिएको उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन नै रहेको छ ।
समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको थियो ।