
दशैंको बिदा सकिएर सरकारी कार्यालय खुले पनि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भने मंगलबार खाली–खाली देखिएको छ ।
असोज २४ गते बिहीबारदेखि शुरू भएको दशैंको बिदा सोमबार सकिएर मंगलबारदेखि कार्यालय सुचारू भएका थिए ।
देशभरका सरकारी कार्यालयको अनुगमन गर्ने सिंहदरबारस्थित मन्त्रालय नै मंगलबार खाली–खाली रहेका थिए ।
अन्य दिन भीडभाड हुने सिंहदरबार मंगलबार सुनसानजस्तै थियो । कतिपय मन्त्रालयमा आधाभन्दा कम मात्र कर्मचारी उपस्थित भएका भेटिए ।
मंगलबार सिंहदरबार भित्रका ७ वटा मन्त्रालयमा पुग्दा ४१३ कर्मचारी अनुपस्थित रहेको पाइए ।
अन्य मन्त्रालय तथा कार्यालयमा पनि यस्तै हालत रहेको उपस्थित कर्मचारीहरू बताउँछन् ।
मंगलबार अर्थ मन्त्रालयमा ११८ जना कर्मचारी अनुपस्थित थिए ।
अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट लोकान्तरलाई प्राप्त विवरणअनुसार २४१ मध्ये १२३ जनाले मात्र विद्युतीय हाजिरी गरेका छन् । अन्य ११८ जना अनुपस्थित रहे ।
९ जना सहसचिवको दरबन्दी रहेको उक्त मन्त्रालयमा मंगलबार ६ जना सहसचिवहरू अनुपस्थित थिए ।

सहसचिवहरू श्यामप्रसाद भण्डारी, उत्तरकुमार खत्री, नारायणप्रसाद रिसाल, ईश्वरीप्रसाद अर्याल, रितेशकुमार शाक्य, नरेन्द्रकुमार राना अनुपस्थित रहे ।
सहसचिव रिसालले भने पर्व बिदा स्वीकृत गराएको पाइएको छ ।
त्यसैगरी, ३३ जना उपसचिवको दरबन्दी रहेको उक्त मन्त्रालयमा २१ जना उपसचिव अनुपस्थित थिए ।
उपसचिवहरू युगजतन हुमागाईं, टीकाराम भुसाल, डिलाराम गिरी, शरद निरौला, निर्मल ढकाल, किशोर ढकाल, शशी भट्टराई, जगदिश्वर उपाध्याय, घनश्याम सुवेदी, देवनारायण पौडेल, गजेन्द्रप्रसाद यादव, मुक्तिनाथ सुवेदी, गौरीशंकर उपाध्याय, नितु भारती, केशवकुमार उप्रेती, ढाकाराम तिवारी, तीर्थराज बराल, हिक्मतबहादुर भण्डारी, कमानसिं थापा मगर, ऋषिराम अधिकारी, रमेश शर्मा अनुपस्थित रहेको पाइएको छ ।
अनुपस्थित उपसचिवहरूमध्ये केहीले बिदा लिएका छन् भने केही बिदा नै नलिई अनुपस्थित भएका हुन् ।
त्यसैगरी, शाखा अधिकृत, नायब सुब्बादेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरू अनुपस्थित थिए ।
हेर्नुहोस्, अनुपस्थित कर्मचारीहरूको विवरण :



अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीका अनुसार १८ जनाले पहिलेदेखि नै बिदा स्वीकृत गराएका हुन् भने ३५ जना कर्मचारी आन्तरिक काज तालिममा छन् ।
कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन दाहाल भने सम्बन्धित महाशाखाको प्रमुखले नै सम्बन्धित शाखाका कर्मचारीको बिदा स्वीकृत गर्ने हुनाले सबै कर्मचारीको बिदा स्वीकृतिबारे थाहा नहुने बताउँछन् ।
'आज अनुपस्थित देखिएका कर्मचारीहरूमध्ये कतिपयले पहिले नै बिदा स्वीकृत गराएको हुनसक्ने सम्भावना छ । हाम्रोमा पछि पनि अद्यावधिक हुने हुनाले अनुपस्थित देखिएका कर्मचारीहरूले बिदा लिएको भएपनि कर्मचारी प्रशासन महाशाखामा अपडेट नभएको हुनसक्छ,' दाहालले लोकान्तरसँग भने ।
त्यसैगरी, कतिपय कर्मचारीको अन्यत्र सरुवा भएपनि रवाना नलिएका कारण स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी देखिएको उनले बताए ।
****
त्यसैगरी, कर्मचारीहरूको अभिभावक मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि मंगलबार ५९ जना कर्मचारी अनुपस्थित थिए । ११:२० सम्ममा सचिव भरतमणि सुवेदी आफैं पनि हाजिर भएका थिएनन् ।
निमित्त सचिवको जिम्मेवारी सम्हालेका सहसचिव प्रकाश दाहालको अनुमतिमा कर्मचारी प्रशासन शाखाले दिएको तथ्यांकअनुसार सचिव सुवेदीसहित ५९ जना कर्मचारी अनुपस्थित थिए ।
सहसचिवहरू कालीप्रसाद पराजुली र बलराम रिजाल पनि अनुपस्थित रहेको पाइए । कुल १४२ जना कर्मचारीको दरबन्दी रहेको उक्त मन्त्रालयमा ८० जना कर्मचारी उपस्थित भएका थिए ।
२५ जना कर्मचारी बिदा स्वीकृत गराएर अनुपस्थित भएका थिए भने कतिपय घरपायक जिल्लाका स्थानीय तहमा अनुगमन गर्ने, कार्य सम्पादन मूल्यांकनको अनुगमन गर्ने भनेर काज मिलाएर अनुपस्थित भएको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले बताए ।

****
त्यसैगरी, वन तथा वातावरण मन्त्रालयमा १२९ जना कर्मचारीहरूको दरबन्दी रहेकोमा मंगलबार ६२ जना कर्मचारीहरू मात्र उपस्थित भएका थिए ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले उपलब्ध गराएको विवरणअनुसार २१ जना कर्मचारीहरू बिदामा छन् भने ३२ जना कर्मचारी अनुपस्थित भएका हुन् । ३ जना कर्मचारीहरू काजमा छन् ।
सहसचिवद्वय भुपाल बराल र मेघनाथ काफ्ले वैदेशिक मनोनयनमा परेर काजमा रहेको उनले बताए । सचिव डा. दीपककुमार खरालसहित अन्य सहसचिवहरू भने उपस्थित भएको उनले खुलाए ।

****
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ७८ जना कर्मचारीको दरबन्दी रहेकोमा ५४ जना कर्मचारीहरू मंगलबार उपस्थित थिए । सहसचिवहरूमध्ये शिवप्रसाद रेग्मी मात्र अनुपस्थित थिए ।
मन्त्रालयकी शाखा अधिकृत अमृता पन्थीका अनुसार सचिव अर्जुनप्रसाद पोखरेलले पहिले नै बिदा लिएका हुन् । करारतर्फ ३० जना कर्मचारी कार्यरत रहेकोमा १० जनाले बिदा लिएर अनुपस्थित भएको उनले बताइन् । त्यसैगरी, राजपत्रांकित र राजपत्रअनंकिततर्फ कुल ४८ जना कर्मचारी रहेकोमा १४ जनाले बिदा लिएको तथा ३४ जना कर्मचारी उपस्थित भएको उनले बताइन् ।
****
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा कुल १५६ जना कर्मचारीहरूको दरबन्दी रहेकोमा मंगलबार ७३ जना कर्मचारीहरू अनुपस्थित थिए ।
मन्त्रालयका उपसचिव माधवराज मरासिनीका अनुसार ८३ जना कर्मचारी मात्र उपस्थित थिए ।
सहसचिवहरू श्यामकिशोरप्रसाद यादव, सुशीलचन्द्र आचार्य र टीकाराम बराल अनुपस्थित थिए ।

****
त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कुल १०५ जना कर्मचारीको दरबन्दी रहेकोमा मंगलबार ५० जना कर्मचारीहरू अनुपस्थित थिए ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाकी शाखा अधिकृत प्रविज्ञा मानन्धरका अनुसार ५२ जना कर्मचारी उपस्थित भएकोमा ४८ जना बिदामा र २ जना काजमा रहेका कारण ५० जना अनुपस्थित भएका हुन् । सचिव उदयराज सापकोटासहित सहसचिवहरू दलबहादुर अधिकारी, मानबहादुर अर्याल, विनोदकुमार भट्टराई उपस्थित भएका थिए भने सहसचिव अरुणा जोशी अनुपस्थित थिइन् ।

****
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कुल १७२ जनाको दरबन्दी रहेकोमा २८ जना कर्मचारीहरू अनुपस्थित थिए ।
मुख्यसचिव एकनारायण अर्यालसहित सबै सचिव र सहसचिवहरू भने उपस्थित भएको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले बताए । ४ जना स्वदेशमै र ४ जना वैदेशिक (३ भारत र १ तेस्रो मुलुक)काजमा रहेको उनले बताए । बाँकी २४ जना कर्मचारीहरू बिदामा रहेको ती कर्मचारीले बताए । प्रधानमन्त्री केपी शर्मा ओली कार्यालयमा उपस्थित भएका थिए ।

सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि कर्मचारीको उपस्थिति न्यून थियो । काठमाडौं उपत्यका तथा वरपरका जिल्लामा घर रहेका कर्मचारीहरू मंगलबार मन्त्रालयमा उपस्थित भएपनि बाहिर घर भएका कर्मचारीहरू भने अनुपस्थित रहेको पाइएको थियो । मन्त्रालय आउने कर्मचारीहरूमध्ये पनि धेरैजसो हाजिरी गरेर टाप कसेका थिए ।
कोही–कोही ढिला आएर पनि हाजिरी गरेका थिए । कुनै मन्त्रालयमा मन्त्री उपस्थित भएपनि सचिव उपस्थित नभएको, कतै सचिव उपस्थित भए पनि मन्त्री उपस्थित नभएको पाइएको थियो ।
त्यसैगरी, सिंहदरबारमा सेवाग्राहीको पनि खासै उपस्थिति देखिएको थिएन । २४ गतेदेखि २८ गते सम्म ५ दिन सरकारी बिदा रहेको अवस्थामा छैटौं दिन कार्यालय खुले पनि कर्मचारीहरू भने उपस्थित हुन सकेनन् ।